बागमती प्रदेश सरकारको सत्ता समीकरण नयाँ मोडमा
हेटौंडा- सत्ता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेको बागमती प्रदेश सरकारको सत्ता समीकरणमा नयाँ मोड आएको छ । सरकारलाई थपबल पुग्ने गरी हाम्रो नेपाली पार्टी (हानेपा) सरकारमा सहभागी भएको छ । हानेपाका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्य मंगलबार बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएसँगै प्रदेशप्रमुख दीपकप्रसाद देवकोटासमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेशप्रमुख देवकोटाले बज्राचार्यलाई मन्त्री नियुक्त गरेका हुन् । यसअघि यो मन्त्रालयको जिम्मेवारीमा रहेकी बिनु रायमाझी पौडेलले व्यक्तिगत व्यस्तता तथा अन्य कारण देखाउँदै राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी बज्राचार्यलाई दिइएको हो ।
बज्राचार्य काठमाडौँ निर्वाचन क्षेत्र नं. ८ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी यसअघि तत्कालीन नेकपा (माओवादी केन्द्र) नेतृत्वको बागमती प्रदेश सरकारमा संस्कृति तथा पर्यटन मन्त्रीको जिम्मेवारीमा थिए । शपथग्रहणपछि सञ्चारकर्मीसँग कुरागर्दै नवनियुक्त मन्त्री बज्राचार्यले सरकार दीर्घकालीनरुपमा अघि बढ्ने विश्वासका साथ आफू सरकारमा सहभागी भएको प्रतिक्रिया दिए । आफू स्वभावतः सकारात्मक सोच राख्ने व्यक्ति भएकाले वर्तमान सरकारले बाँकी कार्यकाल प्रभावकारी रुपमा पूरा गर्ने अपेक्षा रहेको उनको भनाइ थियो ।
उनले प्रदेशमा लामो समयदेखि देखिएको राजनीतिक अन्योल अन्त्य गर्न सहकार्यको वातावरण आवश्यक रहेको उल्लेख गर्दै वर्तमान निर्णयले त्यही सहकार्यको ढोका खोलेको धारणा राखे । प्रदेश सरकारप्रति आमनागरिकमा निराशा बढ्दै गएको अवस्थामा संघीय व्यवस्थालाई सफल बनाउने दायित्व संघीयता पक्षधर राजनीतिक शक्तिको भएको उनले बताए । प्रदेशलाई असफलताको प्रतीककारुपमा चित्रित हुननदिन सबै दलले साझा जिम्मेवारीकासाथ अघि बढ्नुपर्नेमा उनको जोड थियो ।
‘यस्तो अवस्थामा सरकार विस्तारमा ढिला गर्नु हुँदैन भन्ने मेरो भावना हो,’ बज्राचार्यले भने, ‘वागमतीमा कांग्रेस सरकारले निरन्तरता पाउँछ भन्नेमा म विश्वस्त छु ।’ बज्राचार्यले प्रदेश सरकारले जनताको अपेक्षाअनुसार इमान्दारीपूर्वक काम गर्दै विकास निर्माण, सुशासन र सेवाप्रवाहलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । राजनीतिक स्थिरताले मात्रै प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रमलाई परिणाममुखी ढंगले कार्यान्वयन गर्नसक्ने उनको भनाई थियो ।
मुख्यमन्त्री बानियाँले सरकारलाई आवश्यक समर्थन जुटाउने प्रक्रिया हानेपाबाट सुरु भएको उल्लेख गर्दै यसले विश्वासको मत प्राप्तगर्ने आधार तयार गरेको बताए । प्रदेशमा देखिएको अस्थिरता अन्त्य गर्दै विकासका कामलाई गति दिन सबै राजनीतिक दलबीच सहकार्य अपरिहार्य रहेको उनको भनाई थियो । मुख्यमन्त्री बानियाँले भौतिक पूर्वाधार विकास पूर्वमन्त्री रायमाझी पौडेलले व्यक्तिगत व्यस्तता र अन्य कारणले स्वइच्छाले राजीनामा दिएको स्पष्ट पार्दै उनले सरकारमा रहँदा गरेको योगदानप्रति आभार व्यक्त गरे । नयाँ मन्त्रीलाई स्वागत गर्दै बाँकी कार्यकालमा सरकारको नीति, कार्यक्रम र बजेटलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
‘विश्वासको मतको ढोका खोल्ने कामको सुरुआत हाम्रो नेपाली पार्टीले गरेको छ,’ बानियाँले भने, ‘उहाँले नीति, कार्यक्रम र बजेटलाई सक्रियरुपमा अघि बढाउन म सघाउँछु भन्नुभयो । सघाउने हो भने सरकारमै आएर सघाउनुस् भनेर मैले उहाँलाई मन्त्री नियुक्त गरेको हुँ ।’ मुख्यमन्त्री बानियाँकाअनुसार प्रदेश सरकारले अब विकास निर्माणका आयोजना, पूर्वाधार विस्तार, सेवाप्रवाहको सुधार र सुशासनलाई प्राथमिकतामा राखेर तीव्रगतिमा काम गर्नेछ । सरकारले ल्याएको बजेट तथा वार्षिक कार्यक्रमलाई समयमै कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले थप सक्रियरुपमा काम गर्ने तयारी गरेको उनले बताए ।
मुख्यमन्त्री बानियाँले हानेपाका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएपछि बाहिरबाट समर्थन गर्नेभन्दा सरकारमै सहभागी भएर जिम्मेवारी लिन आग्रह गरिएको र त्यसअनुसार मन्त्रिपरिषद्मा सहभागी भएको जानकारी दिए । सरकारमा सहभागी भएपछि प्रदेशको राजनीतिक स्थिरता कायम गर्न र विकासका कामलाई गतिदिन थप सहज हुने विश्वास उनले व्यक्त गरे । पुनर्गठित मन्त्रीपरिषद्मा शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, उर्मिला नेपाललाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र कञ्चनचन्द्र बादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, सुरेश श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय र कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ । बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित यसअघि १४ वटा मन्त्रालय रहेकामा साउन १ गतेदेखि घटाएर आठ वटा कायम गरिएको छ । बागमती प्रदेशसभामा हानेपाको दुई सिट रहेको छ । मुख्यमन्त्री बानियाँ विश्वासको मत लिने तयारीमा रहेका बेला हानेपाको सरकार प्रवेशलाई प्रदेशको सत्ता राजनीतिमा महत्वपूर्ण घटनाका रुपमा हेरिएको छ ।







