वार्षिकोत्सवमा वृक्षरोपण, ज्येष्ठनागरिकलाई भोजन

साझाकुरा
२०८३ श्रावण २७, बुधबार १२:३०

हेटौंडा- नेपाल प्रहरी श्रीमती संघको ४२ औँ वार्षिकोत्सवको अवसरमा हेटौंडामा वृक्षरोपण तथा ज्येष्ठनागरिकलाई भोजन गराएको छ ।वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेश र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको संयुक्त आयोजनामा विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रम गरिएको हो । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक रेग्मीको प्रमुख आतिथ्यतामा बागमती प्रदेश प्रहरी गण हेटौंडाको प्रांगणमा वृक्षरोपण गरिएको हो । कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठउपरीक्षक राजेन्द्र प्रसाद धमला, बागमती प्रदेश प्रहरी गणका प्रमुख प्रहरीउपरीक्षक सन्तोष तामाङ, प्रहरीउपरीक्षक खड्गबहादुर खत्री, प्रहरीउपरीक्षक मोहनबहादुर खाण, प्रहरी नायवउपरीक्षक तथा नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेशका पदाधिकारीलगायत प्रहरी कर्मचारीको सहभागिता रहेको थियो ।

वृक्षरोपण कार्यक्रममा विभिन्न ३८ प्रजातिका फलफूलका बिरुवा रोपिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । वातावरण संरक्षणसँगै प्रहरी कार्यालय परिसरलाई हरियाली बनाउने उद्देश्यले वृक्षरोपण गरिएको हो । वार्षिकोत्सवकै अवसरमा नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेश र बागमती प्रदेश प्रहरी कार्यालयको संयुक्त आयोजनामा हेटौंडा उपमहानगरपालिका–१५ स्थित दिव्यसेवा निकेतन ज्येष्ठनागरिक आश्रमस्थलमा रहेका ज्येष्ठनागरिकलाई एकदिनको भोजन गराइएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत् आयोजना गरिएको कार्यक्रममा आश्रमका ज्येष्ठनागरिकलाई भोजन गराउँदै उनीहरुसँग आत्मीयता र सद्भाव आदानप्रदान गरिएको थियो । नेपाल प्रहरी श्रीमती संघले आफ्नो वार्षिकोत्सवका अवसरमा सामाजिक सेवा, वातावरण संरक्षण तथा मानवीय सेवासँग सम्बन्धित विभिन्न कार्यक्रम गर्दै आएको छ । यसवर्ष पनि वृक्षरोपण र ज्येष्ठनागरिकलाई भोजन गराउने कार्यक्रममार्फत् सामाजिक सेवाको अभियानलाई निरन्तरता दिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*