अनुमतिबिनै औषधि बिक्री
हेटौंडा÷हेटौंडामा सञ्चालित अधिकांश मेडिकलले नागरिकको स्वास्थ्य संवेदनशीलता माथि गम्भिर खेलबाड गरिरहेको पाइएको छ । औषधि बिक्री वितरणका लागि लाइसेन्स नभएका व्यक्तिले भटाभट हचुवाको भरमा बिरामीलाई औषधि बिक्री वितरण गर्दै आएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिवार गरेको अनुगमनमा हेटौंडाका अधिकांश मेडिकलले अवैध तरिकाबाट बिरामीलाई औषधी बिक्री वितरण गर्दै आइरहेको खुलेको हो । हेटौंडा–१० राप्ति रोडस्थित गुराँस पोलिक्लिनिक तथा श्री साई फार्मेसीमा लाइसेन्स नभएका व्यक्तिले औषधि बिक्री वितरण गर्दै आइरहेको हो ।
नागरिकको स्वास्थ्यमाथि खेलबाड गरिरहेको पाइएपछि प्रशासनले गुराँस पोलिक्लनिक र श्री साई फार्मेसीमा ताला लगाएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले लाइसेन्स नभएका व्यक्तिले औषधि बिक्री वितरण गरेको पाइएपछि ताला लगाएको र आइतबार कार्यालयमा लाइसेन्ससहित उपस्थित हुन निर्देशन दिइएको बताए । फार्मेसीका सञ्चालकले कर्मचारीको आवश्यक कागजपत्र देखाउन नसकेको जनाइएको छ । अनुगमनमा स्वास्थ्य कार्यालय, घरेलु कार्यालय, हेटौंडा उपमहानगर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिहरुको सहभागिता थियो ।







