६ सय जनाको निःशुल्क मुटु परीक्षण
हेटौंडा/हेटौंडा अस्पतालमा आयोजना गरिएको निःशुल्क मुटुरोग शिविरमा ६ सय जनाको मुटु परीक्षण गरिएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित उक्त अस्पतालमा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारी काठमाडौंका मुटुरोग विशेषज्ञ चिकित्सकहरुले बिरामीहरुको जाँच गरेका थिए । निःशुल्क सेवा लिएका ६ सयमध्ये ८० प्रतिशतमा समस्या देखिएको केन्द्रका डाइरेक्टर चन्द्रमणि अधिकारीले बताए । शिविरमा स्वास्थ्य जाँच गरिएका ३० जना बिरामीलाई काठमाडौं नै गएर मुटुको शल्यक्रिया गर्नुपर्ने देखिएको अधिकारीले जानकारी दिए ।
‘मुटुको समस्या हुनेमा १५ वर्षभन्दा मुनिका ३ जना बालबालिका समेत छन् । यी बिरामीहरुको मुटुको भल्भ फेर्नुपर्ने तथा भल्भ साँधुरो भएकाले आवश्यक उपचार गर्नुपर्ने देखिन्छ ।’ उनले भने, ‘शिविरमा जाँच गराउन आएका बिरामीहरुमध्ये १ सय जनाको इको कार्डियो तथा ३ सय ३० जनाको इसीजी मेसिनमार्फत् जाँच गरिएको थियो । शिविरमा केन्द्रका ७ जना विशेषज्ञ चिकित्सक र ४ जना प्राविधिकहरुले सेवा प्रदान गरेका थिए । डाइरेक्टर अधिकारीले शल्यक्रिया गर्नुपर्ने बिरामीहरुको सरकारले निर्धारण गरेको उपचारको मापदण्डको आधारमा रहेर निःशुल्क शल्यक्रिया हुने जानकारी दिए । मापदण्डभन्दा बाहिरको उपचार गराउनेहरुको सन्दर्भमा सम्बन्धित पालिकाको सिफारिसको आधारमा सरकारले १ लाख रुपैयाँसम्मको उपचार खर्च प्रदान गर्ने उनले जानकारी दिए ।







