राजमार्गमा चाडपर्व लक्षित सडक मर्मत
हेटौंडा/दै गरेको दसैँलगायत चाडपर्वमा यात्रुलाई आवतजावतमा सहजता पु¥याउने उद्देश्यले तीन जिल्लाका राजमार्गका खाल्डाखुल्डी मर्मतसम्भारको काम सुरु गरिएको छ । मकवानपुर, बारा र पर्सामा सडक मर्मतसम्भारको काम सुरु गरिएको सडक डिभिजन कार्यालय हेटौँडाका कार्यालय प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिए। बाराको धनसारदेखि पथलैयासम्म, मकवानपुरको हेटौँडाहुँदै लोथरसम्म र हेटौँडाको भैँसेहुँदै मकवानपुरको दामचौरका विभिन्न क्षेत्रमा सडकका खाल्डाखुल्डी मर्मतसम्भारको काम अघि बढाइएको हो ।
सडक डिभिजन कार्यालय हेटौँडाको कार्य क्षेत्र मकवानपुर, बारा र पर्सा पर्दछ । संघीय सरकारको करिब एक करोडको लागतमा सडक मर्मतको काम सुरु गरिएको सो कार्यालयले जनाएको छ । आगामी १० दिनभित्र सडक मर्मतको काम सकिने योजना रहेको कार्यालयका इञ्जिनियर लोमश उपाध्यायले जानकारी दिए । साथै कार्यालयले अन्य सडक र पुल निमार्ण तथा मर्मतको कामसमेत जारी राखेको जनाएको छ । यसैबीच बारा र पर्सा गरी दुई जिल्लामा गत आव ०७७÷०७८ मा आठ पक्की पुल निर्माण सम्पन्न भएका छन् । त्यसमध्ये बारामा चार र पर्सामा चार पुल निर्माण भएका हुन् । (रासस)







