‘आर्थिक पत्रकारिताबाट महत्वपूर्ण सुझाव पाइनेछ’
हेटौंडा÷बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्काले आर्थिक पत्रकारिताबाट प्रदेशको आर्थिक मामिलामा महत्वपूर्ण सुझाव प्राप्त हुने बताएकी छन् । शुक्रबार हेटौंडामा नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व सचिवालयसँगको सहकार्यमा आर्थिक पत्रकारहरुलाई सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धि तालिम तथा अभिमुखीकरणलाई सम्बोधन गर्दै मन्त्री खड्काले पत्रकारले तीनै तहको सरकारलाई जिम्मेवार बनाउन सक्ने दाबी गर्दै संघीय व्यवस्था बलियो बनाउने आर्थिक पाटो चुस्त हुनुपर्नेमा जोड दिइन् ।
उनले पत्रकारिता क्षेत्र एडभान्स भएको बन्दै वित्तिय संघीयता सफल बनाउन सकियो भने संघियताको अर्थले सार्थकता पाउने बताइन् ।
उनले पत्रकारको अध्ययन विश्लेषणले राष्ट्रको वित्तीय व्यवस्था दरिलो हुने धारणा राखिन् । कार्यक्रममा बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका अर्थ सचिव धनिराम शर्माले आर्थिक सूचनाहरू जनताका बिचमा लैजाने क्रममा पत्रकारहरूबाट प्राबिधिक त्रुटी हुने गरेको गुनासो गरे । सरकारले बिनियोजित गर्ने बजेट मितव्ययी भए नभएको, दोहोरपना आए नआएको बारे चासो राखिदिन उहाँले आग्रह गर्नुभएको छ । पारदर्शीतालाई ध्यानमा राख्दै लक्षित बजेट, खर्च बारे राम्रो अध्ययन नभएको बताए । सरकारले बजेट ल्याउनु अघि जनताको सुझाव संकलन भए नभएको, संसदीय नियन्त्रणको अवस्था, कर प्रणाली, योजनाको दीर्घ प्रभावित बारे सूचना आमनागरिकमा लैजान मिडियाले भूमिका निर्वाह गर्नु पर्ने अर्थ सचिव शर्माले बताए।
आर्थिक पत्रकार समाज सेजनका अध्यक्ष जनार्दन बरालको अध्यक्षतामा भएको कार्यक्रममा सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धमा हालसम्मका व्यवस्थाहरु बारे पेफाका सदस्य सचिव गोरखबहादुर शाहीले र प्रदेश बजेट खर्च प्रणाली तथा प्रदेश लेखा नियन्त्रक कार्यालयबाट हुने कामहरू बारेमा बागमती प्रदेश लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायले प्रस्तुति गरेका थिए । कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव सुशील पाण्डेले केन्द्रीय तथा प्रदेश बजेट अनुदान प्रणाली, पुँजीगत खर्च संचित कोष बजेट घाट यसका समस्या र अभ्यास बारे जानकारी गराएका थिए । यसैगरी सेजनका निवर्तमान अध्यक्ष भीमप्रसाद गौतमले सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धि हालको रिपोर्टिङ बारे पत्रकारलाई सहजीकरण गरेका थिए ।







