‘सुशासन अभियान पार्टीमा परिणत हुन्छ’
हेटौंडा/नेपाल सुशासन अभियानका संयोजक तथा पूर्व प्रहरी नायब महानिरीक्षक रमेश खरेलले अभियानलाई पार्टीमा परिणत गर्न सकिने बताएका छन् । उनले सुशासन अभियानलाई जनताले रुचाएको खण्डमा पार्टीमा परिणत गरेर अघि बढ्न सकिने बताएका हुन् । हेटौंडामा बिहीवार नेपाल सुशासन अभियानको भेलालाई सम्बोधन गर्दै उनले राजनीतिक जनताको सेवाका निम्ति गर्नुपर्ने धारणा राखे । ‘अभियानलाई तपाईहरुले साथ र सहयोग गरेमा नेपाल सुशासन पार्टीका रुपमा परिणत गरेर राष्ट्रको परिवर्तनका निम्ति काम गर्नेमा विश्वास दिलाउँछु ।’ खरेलले भने ।
मुलुकमा मौलाइरहेको भ्रष्टाचारविरुद्ध अभियान सक्रिय भइरहेको खरेलको भनाई छ । भ्रष्टाचार न्यूनिकरण सबै नागरिक जागरुक हुनुपर्ने उनले बताए । भेलामा मकवानपुरका युवाहरुको सहभागिता थियो। मुलुकमा भ्रष्टचार बढिरहेकोप्रति भेलामा सहभागीहरुले चिन्ता व्यक्त गरेका थिए । सुशासन अभियानलाई साथ दिँदै भ्रष्टाचारविरुद्ध सक्रिय हुने उनीहरुले बताएका छन् । भेलाले अभियानको हेटौंडा उपमहानगरपालिकाको तदर्थ कमिटी गठन गरेको छ । जसको नेतृत्व महेश मगरले गरेका छन् ।







