प्रयोगशाला राख्न अनुदान
हेटौंडा/वाग्मती प्रदेश सरकारले सामुदायिक विद्यालयमा प्रयोगशाला संचालन गर्नका लागि अनुदान दिने भएको छ । वाग्मती सरकारले शिक्षा विकास निर्देशनालयमार्फत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला संचालनका लागि १२ देखि १५ लाख रुपैयाँ अनुदान दिने भएको हो । निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुईंटेलका अनुसार सामुदायिक विद्यालयमा सूचना प्रविधिको विकास र प्रविधियुक्त शिक्षाका लागि अनुदान कार्यक्रम अघि बढाइएको र चालु आव २०७८÷०७९ को बजेटमा ७ करोड रुपैयाँ छुट्याइएको छ ।
निर्देशनालयले ‘सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान, विषयगत र सूचना प्रविधि प्रयोगशाला स्थापना सम्बन्धि कार्यविधि, २०७८’ अनुसार छनोट भएका विद्यालयलाई प्रति विद्यालय १५ लाख, र विज्ञान, विषयगत प्रयोगशाला स्थापना गर्न बढीमा १२ लाख अनुदान दिइने निर्देशक लुईंटेलले बताए । ‘बजेटमा उल्लेख गरिएको कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि बनाएर अघि बढाइएको हो ।’, उनले भने ।
प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्तर्गतको सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान, विषयगत र सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने उल्लेख गरेको थियो । प्रयोगशाला स्थापना गर्ने विद्यालय माध्यमिक तहसम्म सञ्चालित हुनुपर्ने, विद्यालयमा विद्युत पुगेको र जडान गरेको हुनुपर्ने मापदण्ड कार्यविधि तोकिएको छ ।
कार्यविधिमा प्रयोगशाला स्थापना गर्न यसभन्दा अघि तीनै तह संघ, प्रदेश र स्थानीय तहबाट बजेट उपलब्ध नगराइएको विद्यालय व्यवस्थापन समितिको निर्णय समेत आवेदनमा संलग्न हुनुपर्ने, विद्यालयको संरचना, विद्यार्थी संख्या, छात्रा भर्ना दर, भौगोलिक क्षेत्र, विगत तीन वर्षको एसइइको नतिजालगायत कार्यविधिले तोकेको सूचकको आधारमा विद्यालय छनोट गरिने उल्लेख छ ।







