परिवार भन्छः ‘छोरालाई कुटेर मारे, प्रहरी भन्छः आत्महत्या

मकवानपुरगढीको आत्महत्या प्रकरण
साझाकुरा
२०७८ कार्तिक ७, आईतवार ०७:३०

हेटौंडा/ मकवानपुरगढीमा गत १९ भदौमा एउटा आत्महत्याको घटना घट्यो । स्थानीय एक युवाले आत्महत्या गरेको प्रहरी निश्कर्ष छ ।तर, मृतक युवकको परिवारले भने घटना घटेको लामो समयपछि स्थानीयले कुटपिट गरेर हत्या गरेको आरोप लगाएको छ । मकवानपुरगढी गाउँपालिका–३ मक्रानडाँडाका २१ वर्षीय रमेश विकले आत्महत्या गरेर ज्यान फालेको मकवानपुर प्रहरीले जनाएको छ । उता परिवारले  प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको र आफ्नो छोराको आत्महत्या नभई कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन् । घटना हुँदा मृतक विकका बाबु वैदेशिक रोजगारीका लागि साउदी अरबमा थिए ।

घटनाको भित्री रहस्य प्रहरीले नबुझी आत्महत्या भएको बताउँदै घटनालाई गुपचुप राखेको परिवारको आरोप छ । घटना भएको ६ दिनपछि नेपाल आएका मृतकका बाबुले आफूले बुझे अनुसार सबैले घटना मिलाउन खोजेको आरोप लगाएका छन् । विनाकारण आफ्नो छोरामाथि कुटपिट भएको उनको भनाई छ । मृतककी आमाले छेराको आत्महत्या नभई हत्या भएको आरोप लगाएकी छन् । छिमेकी यादव पुडासैनीको परिवारले छोरालाई कुटपिट गरेको उनको भनाई छ ।पुडासैनीको परिवारले घाँटी थिच्ने, लाठाले चुट्ने पेटमा हानिरहेको मृतकको आमाले  आरोप लगाएकी छन् । कुटपिट हुनबाट बचेर छेरा घर भएको १० मिनेटपछि पुडासैनी परिवारले छोरो झुण्डिएको भन्दै सुनाउन आएको बताइन् । छोरा झुण्डिएको देखेपछि आफू बेहोस भएर ढलेको मृतक विकको आमाले बताएकी छन् । मृतकको परिवारले मृतक विकको शव जलाउन हतार गरेको आरोप लगाएका छन् । ‘प्रहरीले छेराको शव जलाइहाल्न प्रहरीले दबाब दिएको थियो। हामीले मानेका थिएनौं ।,’ मृतकको आमाले भनिन् ।

मकवानपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले विकको हत्या नभई आत्महत्या भएको बताए । उनका अनुसार मेडिकल रिपोर्टमा झुण्डिएर मृत्यु भएको उल्लेख छ । ‘विकको हत्या होइन, आत्महत्या नै हो । मेडिकल रिपोर्टमा पनि झुण्डिएर मृत्यु भएको उल्लेख गरिएको छ । परिवारले अनावश्यक रुपमै कुरा गरिरहेको छ ।,’ डिएसपी रिमालले भने । प्रहरीको अनुसन्धानले हत्या नभई आत्महत्या भएको पुष्टि गरिसकेको उनको भनाई छ । उक्त घटनालाई गम्भिर रुपमा प्रहरीले अनुसन्धान गरेको उनले बताए । प्रहरीले विकको आत्महत्या दुरुत्साहन मुद्दामा आरोपित पुडासैनीसहित उनका छोराहरुलाई पक्राउ गरेको डिएसपी रिमालले जानकारी दिए । जिल्ला अदालत मकवानपुरले आरोपित पुडासैनीसहित उनका दुई छोरालाई धरौटीमा छाडेको रिमालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*