सालका रुखको एक्सरे गरिँदै
हेटौंडा-मकवानपुरमा सालका रुखको एक्सरे सुरु गरिएको छ । सामुदायिक बनहरुमा सालका ठूला रुखको एक्सरे थालिएको हो । केही समयअघि नेपाल भित्रिएको एकमात्र टोमोग्राफ मेसिनबाट रुख भित्रको धोदको मात्रा पत्ता लगाउन एक्सरे गरिएको डिभिजन वन कार्यालय राप्तीका सहायक वन अधिकृत सुरेशप्रसाद गुप्ताले बताए । हाल पुराना सालका रुखको मात्र एक्सरे भइरहेको गुप्ताले जानकारी दिए । उनका अनुसार सबडिभिजन वन कार्यालय बसामाडी अन्तर्गतका बसामाडी तथा नेवारपानी क्षेत्रमा रहेका आधा दर्जन सामुदायिक वनमा रहेका पुराना रुखको धोदको मात्रा पत्ता लगाउन टोमोग्राफ मेसिनमार्फत एक्सरे गर्न जरुरी भएकोले नयाँ प्रविधिलाई प्राथमिकता दिइएको हो ।
‘टोमोग्राफले दिएको चित्रलाई सफ्टवेयरमा एनालाइसिस गरेपछि रुखभित्र बिग्रिएर धोद भएको मात्राको प्रतिशत, बिग्रँदै जाने क्रममा रहेको मात्रबारे थाहा पाइन्छ । गुप्ताले भने, ‘जर्मनमा विकास भएको ३५ लाख रुपैयाँ पर्ने यो मेसिन वन अनुसन्धान तथा तालिम केन्द्रले केही समयअघि मात्रै खरिद गरेको हो ।’ वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रकी उपसचिव सुनिता उलक र सहायक अनुसन्धान अधिकृत केशव घिमिरेको टोलीले पहिलो चरणमा ४० थान सालका रुखहरुको एक्सरे गर्दै छन् । ‘केही समयअघि मात्रै जर्मनबाट टोमोग्राफ मेसिन खरिद गरिएको हो,’ केन्द्रकी उपसचिव उलकले भनिन्, ‘बिरामीको शरीरमा ईसीजी गर्दा विभिन्न प्वाइन्टहरूमा सेन्सर राखिए झैं रूखका विभिन्न स्थानहरुमा प्वाइन्ट राखि यो मेसिनले भित्री अवस्था पत्ता लगाउँछ ।’







