यातायात कार्यालय बालाजुद्वारा शिलबन्दी प्रस्तावका बाँकी प्रक्रिया स्थगन
हेटौंडा- काठमाडौँको बालाजुस्थित यातायात व्यवस्था कार्यालयले शिलबन्दी प्रस्ताव आह्वानसम्बन्धी प्रक्रियाका बाँकी चरण अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको छ । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालय मातहत रहेको यस कार्यालयले आइतबार सूचना जारी गर्दै विभागीय मन्त्रीको निर्देशनअनुसार यो निर्णय गरिएको जनाएको हो । कार्यालयका अनुसार आइतबार दिउँसो १ बजेसम्म भएका शिलबन्दी प्रस्ताव फाराम दर्ताको कार्यलाई यथावत् राखिएको छ । तर, सो समयपछिका प्रचलित ऐन र कानूनबमोजिमका सूचनाका अन्य बाँकी चरण भने मन्त्रीको स्थगन आदेश प्राप्त भएकाले हाललाई रोकिएको सूचनामा उल्लेख छ ।
यसअघि कार्यालयले गत मङ्सिर २६ गते शिलबन्दी प्रस्ताव आह्वानको सूचना प्रकाशित गरेको थियो । सोही सूचनाका आधारमा पुस ११ गतेसम्म प्रस्ताव फाराम बिक्री गर्नेकार्य सम्पन्न भई केही फाराम दर्तासमेत भइसकेका थिए ।स्थगन गरिएका प्रक्रिया कहिलेदेखि पुनः सुचारु हुने भन्नेबारे कार्यालयले अर्को सूचनामार्फत् जानकारी गराउने बताएको छ । यातायात व्यवस्था कार्यालय, बालाजुले ट्रायल सेन्टर सञ्चालनका लागि ०८२ मंसिर २६ गते सूचना प्रकाशित गरी सिलबन्दी प्रस्ताव आह्वान गरेको थियो । तर, प्रक्रिया सुरु भएको केही समयमै मन्त्री थापाले आफ्नै लेटरहेड प्रयोग गरी सातबुँदे निर्देशनसहित सूचना तत्काल स्थगन गर्न आदेश दिएका हुन् ।
मन्त्री थापाले पठाएको पत्रमा ट्रायल सेन्टर छनोटसम्बन्धी सूचना स्थगन गर्न सातवटा आधार उल्लेख छन् । संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन, उच्चस्तरीय प्रशासनिक पुनर्संरचना निर्देशन समितिको कार्यप्रगतिमा रहेको अवस्था, प्रदेश यातायातक्षेत्र पुनरावलोकन तथा सुधार सुझाव समितिको प्रतिवेदन नआइसकेको अवस्था र सार्वजनिक लेखा समितिको निर्देशनलाई आधार बनाएर प्रक्रिया रोक्न आदेश दिइएको पत्रमा उल्लेख छ । पत्रमा सेवाविस्तार गर्दा जनतालाई हुने लाभ–हानि र सहजता–असहजताको वस्तुनिष्ठ अध्ययन नभएको, नयाँ संरचना थप्नुअघि प्रशासनिक पुनर्संरचना सम्बन्धी अन्तिम प्रतिवेदन कुर्नुपर्ने राजनीतिक सहमति रहेको तथा मन्त्रालयसँग समन्वय नगरी सूचना प्रकाशित गरिएको दाबी गरिएको छ ।







