पृथ्वीनारायणको सम्झना

साझाकुरा
२०७८ पुष २७, मंगलवार ०९:४२

२०६२÷०६३ को राजनीतिक परिवर्तन अघिसम्म वर्षेनि मनाइँदै आएको राष्ट्रिय एकता दिवस त्यसपछि ओझेलमा पर्दै गएको छ । अहिले मुलुकमा राजतन्त्र नभएर संघीय गणतान्त्रिक शासन व्यवस्था छ । यसकारण राजाको जन्मदिनलाई दिवसको रुपमा किन मनाउने भन्ने तर्क पनि उठ्ने गरेको छ । एक हिसाबले यो तर्क सही भए पनि इतिहासको कुनै समयमा कमजोर अवस्थामा रहेका सानासाना राज्यहरु एकीकरण भई बलियो देश नेपाल बनेको कारण एकता दिवस मनाउनु सान्दर्भिक हुने देखिन्छ । विश्वका विभिन्न देशहरु अन्य देशको अधिनस्थ भएर स्वतन्त्र भएको खुशीयालीमा स्वतन्त्रता दिवस मनाउने गरेको भए पनि नेपाल कहिल्यै अन्य देशको अधिनमा नबसेको हुँदा हामीले एकता दिवसलाई एउटा राष्ट्रिय दिवसको रुपमा मनाउनु आवश्यक देखिन्छ ।

नेपालमा अहिले राष्ट्रले घोषित गरेको र मान्यता दिएको एकता दिवस मनाउने कुनै दिन छैन । राज्यको पुनःसंरचना गरी संघीयतामा गएर नया“ नेपाल बनाउने कुरा जति भएका छन्,  व्यवहारमा त्यो सार्थक बन्न सकेको छैन । बरु वर्तमानका  राजनीतिक गतिविधिहरु राष्ट्रिय एकताको आधार खडा गर्ने र सूत्र बलियो बनाउनेतिरभन्दा राष्ट्रिय सद्भाव नै खलबल्याएर राष्ट्रको अस्मितामाथि नै धावा बोल्ने दिशातिर उन्मुख छन् ।  दुई सय ९४ वर्षअगाडि सानो गोर्खा राज्यमा जन्मिएका पृथ्वीनारायण शाहले बाइसे चौबीसे राज्यमा विभाजित नेपाललाई पुनःएकीकरण गरी विशाल नेपाल राज्यको निर्माण गर्न नायकीय भूमिका खेलेको प्रेरणादायी इतिहासलाई बिर्सन सकिँदैन । विखण्डित राज्यहरुलाई एकीकरण गरी स्वतन्त्र राज्यका रुपमा यसको अस्तित्व जोगाइराख्न पृथ्वीनारायण शाहले खेलेको ऐतिहासिक भूमिकाकै कारण आज हामी नेपाली भएर चिनिन सकेका हौं । त्यसैले वर्तमान राज्यव्यवस्थाले इतिहासको जगेर्ना गर्न पनि एकता दिवस मनाउनु सान्दर्भिक हुनेछ ।

विगतमा मनाइँदै आएको राष्ट्रिय एकता दिवसलाई  राज्यस्तरबाट मान्यता दिएर मनाउने वातावरण सिर्जना गर्नु आवश्यक छ । पृथ्वीनारायण शाह राजा भएकै कारण उनले गरेका असल कामलाई अवमूल्यन गर्नु उचित हुँदैन । राष्ट्रिय एकता दिवसको अपरिहार्यतालाई सबैले बुझ्नु पर्छ । राष्ट्रिय एकता दिवसलाई  राज्यले मान्यता दिएर नेपालीहरुबीच रहेको धार्मिक, सांस्कृतिक, जातीय, भाषिक, क्षेत्रीय, वर्गीय विविधताबीच एकता कायम गर्न प्रोत्साहन हुनेछ । यसले मुलुकमा राष्ट्रिय पुनःजागरण कायम गर्दै राष्ट्रियता र राष्ट्रिय अखण्डता रक्षामा पनि सहयोग पुग्ने आशा गर्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*