२० अर्ब बढीको बीमादाबी पर्नसक्ने

साझाकुरा
२०८२ भाद्र ३१, मंगलवार १२:२१

जेनजी आन्दोलनका क्रममा राजधानी काठमाडौंसहित देशका विभिन्न सहरमा तोडफोड, आगजनी र लुटपाट हुँदा निजी तथा व्यावसायिक क्षेत्रमा खर्बौँ रुपैयाँबराबरको क्षति भएको छ । यसले बीमाक्षेत्रमा मात्रै २० अर्ब रुपैयाँभन्दा बढीको दाबी पर्न सक्ने अनुमान गरिएको छ । मुलुकको सबैभन्दा महत्वपूर्ण प्रशासनिक केन्द्र सिंहदरबार सहित देशभरका सार्वजनिक सम्पत्तिको पुनर्निर्माणमा राज्यले ठूलो धनराशी लगानी गर्नु पर्ने हुन्छ । सार्वजनिक सम्पत्तिको बीमा नहुने भएका कारण सबै खर्च सरकारले नै व्यहोर्नु पर्ने हुन्छ । निजी क्षेत्रको संरचनामा भने बीमा गरिएको अवस्थामा बीमा कम्पनीले जोखिम कभरेज गर्ने गरेको छ । नेपालका बीमा कम्पनीहरुले हुलदंगाको पुनर्बीमा नेपाल रिइन्स्योरेन्समा मात्रै गरेको पाइएको छ । यस अर्थमा गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको कारण भएको क्षतिको ठूलो दबाब नेपाल रिमा पर्ने देखिएको छ ।

हिमालयन रि इन्स्योरेन्स भने यसपटकको हुलदंगा बीमा क्षतिको भुक्तानी दिनुपर्ने दबाबबाट जोगिएको छ । सामान्यतया कुनै पनि बीमा कम्पनीले जारी गरेको बीमाको जोखिमलाई पुनर्बीमा कम्पनीले बाँडफाँड गर्ने गर्छन् । हुलदंगा बीमाको हकमा पनि यही लागू हुन्छ । हुलदंगाबाट सिर्जित क्षतिको दाबी भुक्तानी ३५ प्रतिशत बीमा कम्पनीबाट र ६५ प्रतिशत रिइन्स्योरेन्स कम्पनीबाट बाँडफाँट हुने प्रावधान छ । हुलदंगाको पुर्नबीमा अन्तर्राष्ट्रियपुनर्बीमा कम्पनीहरुसँग पनि गरिएको छ । नेपाल बीमा प्राधिकरणले आइतबारदेखि सबै बीमा कम्पनीलाई पूर्ववत्रुपमा कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । प्राधिकरणले विगत केही दिनदेखि उत्पन्न विषम परिस्थिति हाल सामान्य बन्दै गएकाले पूर्ववत् कार्यालय सञ्चालनमा ल्याउन आग्रह गरेको हो ।

सुरक्षा निकायले कफ्र्यू र निषेधाज्ञा हटाउँदै लगेकाले सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालय पूर्णरुपमा सञ्चालन गर्न आग्रह गरेको हो । प्राधिकरणले भौतिकरुपमै कार्यालयमा उपस्थित भई कार्य गर्न गराउन अनुरोध गरेको सूचनामा उल्लेख छ । यसअघि प्राधिकरणले यही भदौ २३ र २४ गतेको आन्दोलन तथा प्रदर्शनका कारण भएको क्षतिको बीमादाबी भुक्तानीको कामलाई सहज र सरल बनाउन निर्देशन दिइसकेको छ । आन्दोलनकारीले भाटभटेनी सुपरमार्केटलाई सबैभन्दा ठूलो निसाना बनाए । काठमाडौं उपत्यकाका नक्साल, महाराजगञ्ज, बौद्ध, कोटेश्वर, राधेराधे, कलंकीलगायत १४ शाखामा आगजनी र लुटपाट हुँदा सबै संरचना ध्वस्त बने । विराटनगर, पोखरा, हेटौंडा, धरान, दमक, बिर्तामोड र भरतपुरका शाखा पनि आक्रमणमा परे । भाटभटेनीको मात्र अर्बौंको क्षति भएको छ । हिल्टन होटल, एनसेलको केन्द्रीय कार्यालय, ग्लोबल कलेज, सेन्ट्रल बिजनेस पार्क, थापाथलीस्थित हुन्डाई, सुजुकी र टाटा मोटर्सका शोरुममा आगजनी हुँदा करोडौंको सम्पत्ति नष्ट भएको छ ।

चौधरी ग्रुपको सतुंगलस्थित डिजिटल पार्क, कारखाना र शोरुममा क्षति पुगेको छ । सांसद विनोद चौधरीको रविभवनस्थित निवासमा भएको आगजनीमा घरसहित आधा दर्जन गाडी खरानी बनेका छन् । बसन्त चौधरीको ठमेलस्थित घरमा पनि तोडफोड भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बीमादाबी हुलदंगा तथा आतंकवाद जोखिमअन्तर्गत् पर्ने भएकाले दाबी भुक्तानीको ठूलो भार नेपाल पुनर्बीमा कम्पनीमाथि पर्नेछ । बीमा कम्पनीले यो जोखिममा ३५ प्रतिशत दायित्व आफूसँग राख्ने र बाँकी ६५ प्रतिशत नेपाल पुनर्बीमामा हस्तान्तरण गर्ने व्यवस्था छ । यसरी ठूलो क्षतिहुँदा पुनर्बीमा कम्पनीलाई अर्बौँ रुपैयाँको दाबी भुक्तानी गर्नुपर्ने देखिएको छ । बीमा कम्पनीले बीमित सम्पत्तिको क्षति विवरण संकलन सुरु गरिसकेका छन् । बीमा कम्पनीको छाता संगठन नेपाल बीमक संघले आपतकालीन बैठक बसेर महाभूकम्प २०७२ भन्दा ठूलो दाबी पर्न सक्ने निष्कर्ष निकालेको हो । संघले जारी गरेको विज्ञप्तिमा दाबी व्यवस्थापन चुनौतीपूर्ण भएपनि कम्पनीहरु यसका लागि सक्षम र प्रतिबद्ध रहेको उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*