राष्ट्रिय शोक
जेनजी पुस्ताको आन्दोलनको पहिलो दिन सरकारले अत्यधिक बल प्रयोग गरी निहत्था विद्यार्थीको टाउको र छातीमा तातो गोली बर्साएपछि दोस्रो दिन आन्दोलनले उग्र रुप लियो । मुलुक खरानी भएपछि प्रधानमन्त्री केपी शर्माओलीले पदबाट राजीनामा दिए । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएकै समयमा प्रधानमन्त्री ओलीले पनि राजीनामा दिएको भए भोलिपल्टको जेनजी आन्दोलनमा यो नियती सहायद भोग्नु पर्ने थिएन होला । एकजना शासकको हठका कारण ७२ जनाको ज्यान गयो, हजारौं घाइते भए, खरबौं रुपैयाँको भौतिक संरचना खरानी भयो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि थप तीन जना मन्त्रीहरुले सोमवार नै पदभार ग्रहण गरेका छन् ।
सरकारले जेनजी आन्दोलनको क्रममा मारिएकाहरुको सम्मानमा राष्ट्रिय शोक मनाउने भएको छ । गृह तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले सोमवार सिंहदरवारमा पुगेर पदभार ग्रहण गरेलगत्तै यो निर्णय गरेका हुन् । त्यसैगरी मन्त्री अर्यालले काजकिरिया खर्चबापत मृतकका परिवारलाई एक÷एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको बताए । त्यसैगरी मृतकको शव व्यवस्थापनका लागि निःशुल्क सवारीसाधन र दुर्गम क्षेत्रका लागि हेलिकोप्टर उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।
प्रर्दशनकारी र सुरक्षा निकायका कर्मचारीको सम्मानस्वरुप राष्ट्रिय शोकको रुपमा मनाउने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ । मृतकको परिवारलाई काजकिरियावापत प्रतिमृतक १ लाख रुपैयाँ उपलब्ध गराउने, त्यसका लागि रकमको व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने निर्णय भएको छ ।
परिवारका सदस्यको आग्रहबमोजिम मृतकको शव व्यवस्थापनका लागि निःशुल्क सवारीसाधन एवम् दुर्गमको हकमा हेलिकोप्टरको व्यवस्थापन गर्ने सरकारले निर्णय गरेको छ । यसैगरी गृहमन्त्री अर्यालले जेनजी आन्दोलनको क्रममा भएको बल प्रयोगको घटनालाई छानवीन गर्नुपर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । जेनजी आन्दोलनपछि मुलुकलाई सामान्य अवस्था फर्काउन र कानूनी राज्यको प्रत्याभूति दिलाउन पनि सरकारले आन्दोलनका क्रममा भएको बल प्रयोगको घटनाको निष्पक्ष छानवीनको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने अवस्था आएको गृहमन्त्रीको भनाई हो । जेनजी आन्दोलनलाई जनविद्रोहको संज्ञा दिँदै त्यसक्रममा भएका भएका जनधनको क्षतिलाई सबैले मिलेर सम्बोधन गर्नुपर्ने बताउँदै गृहमन्त्री अर्यालले नयाँ पुस्ताको मागअनुसार अघि बढन पनि कर्मचारीलाई निर्देशन दिएका छन् ।
विगतका कमजोरीलाई नदोहो¥याउने हो भने मुलुक संमृद्ध हुन धेरै समय लाग्दैन । अब हिंसा होइन पुनःनिर्माणतिर लाग्नुपर्ने हुन्छ । देशलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्नेछ । राजनीतिक स्थिरता ल्याउनुपर्नेछ । देश रहेमात्र हामी रहन्छौं । अबको प्राथमिकता युवा पुस्ताको माग सम्बोधन गर्नुपर्छ । तोकिएको समयमा निर्वाचन गर्नुपछ । मुलुकको सबैभन्दा महत्वपूर्ण प्रशासनिक भवन रातभरमा खरानी भएको छ । जुन तत्काल पुननिर्माण गर्नु जरुरी छ । राणाकालीन ऐतिहासिक सम्पदा हो । यसको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयल थियो ।
सिंहदरबार राणा प्रधानमन्त्री चन्द्रशमशेरले आफ्नो निजी निवासको रुपमा १९०३ मा बनाउन लगाएका थिए । एक हजार सातसय वटा कोठाहरु रहेको यो भवन त्यतिबेला एसियाकै सबैभन्दा ठूलो दरबार मानिन्थ्यो । तत्कालीन अवस्थामा २५ लाख रुपैयाँ खर्च गरेर यो निर्माण गरिएको थियो । विसं २००७ मा राणा शासनको अन्त्य भएपछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय राखियो । त्यतिबेला यो दरबारमा प्रधानमन्त्रीको कार्यालयदेखि लिएर सम्पूर्ण मन्त्रालयहरु थिए । विसं २०३० मा सिंहदरबारमा आगलागी भएको थियो ।
त्यसबाट यसको पछाडि पट्टिको धेरैजसो भाग जलेर नष्ट भएको थियो । यो भवन युरोपेली शैलीमा बनेको छ । चन्द्रशमशेर शिकार खेल्न, कलाकौशलका सौखिन भएकाले त्यसबेला उनले यसका भित्ताहरुमा शिकार गरिएका जनावरहरु तथा युरोपेली शैलीका चित्रकलाले सजाएका थिए । आइतबारदेखि सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र निकायका कर्मचारी कार्यालय फर्किएका छन् । आगजनी र तोडफोडबाट प्रभावित ती निकायका कर्मचारीले नियमित काम सञ्चालन गरेका छन् । सम्पूर्ण नेपालीको इतिहासको प्रतीक बनेर फेरि सिंहदरबार उस्तै अवस्थामा फर्कने आशा गर्न बाहेक हामीसँग अर्को बिकल्प पनि छैन ।





