चरम बेथितिको परिणाम
मुलुकमा ब्याप्त भ्रष्ट्राचारको बिरोध गर्न उत्रिएका युवालाई सरकारले तातो गोली उपहार दियो । सोमबारको शान्तिपूर्ण आन्दोलनमा अत्यधिक बल प्रयोग गरी निर्दोष युवाको टाउको गोली प्रहार भएको भोलिपल्ट देश खरानी बन्यो । सत्ताधारी एकजनाको अनावश्यक हठले निम्तिएको परिणामले देश खरानी बन्यो । एकातिर युवा पुस्तालाई स्वदेशमा कसरी टिकाउने भन्ने बहस भइरहेको समयमा सरकारले युवापुस्तामा चरम निराशा पैदा गरायो । भ्रष्ट्राचारीको अनुहार हेर्न चाहन्न भन्ने केपी ओलीले ईतिहासमै सबैभन्दा ठूलो भ्रष्ट्राचार काण्ड मच्चाए । यतिसम्म कि ओलीको बिरोध गर्ने जो कोहीलाई भित्तामा पु¥याउने खेलमा ओली मस्त भए । सर्वसाधारणले चलाउने सामाजिक संजाल बन्द गरेर सरकारले चरम निरंकुशता देखायो । सोमबार जेनजी युवाको प्रदर्शनका क्रममा भएको झडपमा मृत्यु हुनेको संख्या साँझसम्म १९ पुगेको थियो तर, यो संख्या बुधबार साँझसम्म आइपुग्दा ३० पुगेको छ । यो संख्या अझै बढ्न सक्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार मृतकको संख्या ३० पुगेको छ ।
देशभर विभिन्न अस्पतालमा एक हजार जना घाइते उपचार भएका छन् । बिगतका दिनमा हुने गरेका आन्दोलनमा प्रहरीले लाठीचार्ज र पानीको फोहराले आन्दोलनकारी भगाउने कार्य गर्दथ्यो । त्यो भन्दा थप दवाब बढेको खण्डमा टियरग्यासको प्रयोग गर्दथ्यो । त्यसपछि पनि भीड नियन्त्रणमा आएन भने रवरको गोली हान्ने गरेको थियो । त्यसपछि हवाइ फायर गर्ने र यो भन्दा अगाडि जानु पर्ने अवस्था आयो भने आन्दोलनकारीको घुँडा भन्दा मुनी लाग्ने गरी गोली चलाउने गरेको थियो । तर, यो आन्दालनमा प्रहरीले सीधा टाउको ताकेर गोली प्रहार गरेको अवस्था छ । आन्दोलनकारीलाई मार्ने भन्दा पनि भीड नियन्त्रणमा लिने कार्यमा बुद्धिमतापूर्वका काम गर्नु पर्ने ठाउँमा अत्यधिक बल प्रयोग गरेर निहत्था विद्यार्थीलाई तातो गोली उपहार दिनु नै ओली सरकारको मुर्खता थियो । सोमबारको युवाको शान्तिपूर्ण आन्दोलन भड्काउन मलजल गर्ने पक्ष कुन थियो त्यो विषयमा खासै चासो देखाइएन वा जरुरी ठानिएन ।
सीधा आन्दोलनकारीको टाउको र छातीमा तातो गोली ठोक्ने आदेश कसले र किन दियो ? यो अराजकता कहाँबाट सुरु भयो ? युवाले देश सुधारगर्न खोज्ने विषय बेठीक पक्कै थिएन । भ्रष्टाचार, वेथिति र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजीले गरेको प्रदर्शनको समाचार संकलनमा खटिएका बेला प्रहरीले चलाएको गोली लागेर चारजना पत्रकार घाइते भए । मुलुकको सबैभन्दा संबेदनशील सिंहदरबार क्षेत्रमा रातभर अगो लाग्ने अवस्था कसले गर्दा आयो ? संसदभवन, सर्वोच्च अदालत, शितलनिवास, बवरमहल, नेपाल राष्ट्रबैंक, केशरमहललगायत भएभरका प्रशासनिक भवन खरानी भयो । मुलुकका शीर्षनेता, पूर्वमन्त्रीका निजीभवनमा आगजनी तोडफोड, लुटपाट हुनु भनेको राजनीतिक आन्दोलन हुँदै होइन । जेनजी आन्दोलनमा भएको घुसपैठका कारण प्रदर्शनकारीले ठूला उद्यमी तथा बहुराष्ट्रिय कम्पनीका घर, कार्यालय र उद्योगमा छानीछानी आक्रमण गरेका छन् ।
उद्यमीका सुपरमार्केट, उद्योग, होटेल, सञ्चारमाध्यम, वायुसेवा कम्पनी, घर र निवासमा आक्रमण हुँदा अर्बौंको क्षति पुगेको छ । यसको जिम्मेवारी कसले लिने त ? भाटभटेनी सुपरमार्केटका कम्तिमा १४ वटा स्टोरमा आक्रमण भएको छ । काठमाडौं उपत्यका अधिकांश स्टोरमा प्रदर्शनकारीले लुटपाट र आगजनी गरी पूर्णरुपमा ध्वस्त बनाएका छन् । केही महिनाअघि दुर्गा प्रसाईंले नेतृत्व गरेको राजावादी आन्दोलनमा पनि भाटभटेनीमा लुटपाट र तोडफोट भएको थियो । यसबाट पाठ सिक्नु जरुरी थियो । चौधरी ग्रुपका अध्यक्ष तथा विनोद चौधरीको रविभवनस्थित निवास र सीजीको सतुंगलस्थित डिजिटल पार्कमा आगो लगाएर ध्वस्त बनाइयो । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष व्यवसायी उपेन्द्र महतोको आवासमा लुटपाट, तोडफोड र आगजनी भयो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाको सीतापाइलास्थित निवासमा आगजनी, लुटपाट र तोडफोड भएको छ ।




