भूकम्पबाट जोगिने संयन्त्र निर्माण आवश्यक
आज आइतबार २३ औंं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । वि.सं. १९९० साल माघ २ गते गएको महाभूकम्पको स्मरणमा २०५५ सालदेखि बर्सेनि राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गरिएको हो । नब्बे सालको भूकम्पले पु¥याएको मानवीय र भौतिक क्षतिको पीडाले गम्भीर पाठ सिकाएको र भूकम्पीय सम्भावना उच्च हुँदाहुँदै पनि हामीले भूकम्पबाट सुरक्षित हुन पर्याप्त तयारी गरेका रहेनछौं भन्ने पुष्टि २०७२ वैशाख १२ को भूकम्पले गरेको छ । आठ दशमलब तीन रेक्टर स्केलको नब्बे सालको महाभूकम्पपछि पनि नेपालमा २०४५ र २०६९ मा ठूलै भूकम्प गइसक्दा चेत नखुलेका नेपालीलाई २०७२ वैशाख १२ को अर्को विनाशकारी भूकम्पले केही चेत भने खुलाएको छ ।
भूकम्पविद्हरुका अनुसार भौगर्भिक हलचल, चट्टान तन्किने तथा खुम्चिने प्रक्रिया र कृत्रिम वस्तुको विस्फोटका कारण भूकम्प जाने गर्छ । नेपाल भूकम्पीय जोखिममा अग्रस्थानमा रहेको कुरा विभिन्न समयमा आएको विनाशकारी भूकम्पले पुष्टि गरिसकेको छ । भूकम्पीय जोखिमयुक्त विश्वका १ सय १८ मुलुकमध्ये नेपाल ११ औँ स्थानमा छ । नेपालको इतिहासमा ठूला–ठूला विनाशकारी भूकम्प गएका छन् । नेपालमा वि.सं. १९९० साल माघ २ गते ८.४ रेक्टर स्केलको भूकम्प गएको थियो । यो प्रकोपबाट ८ हजार ५ सय १९ जनाको मृत्यु हुनुका साथै २ लाख ७ हजार ७ सय ४० वटा भौतिक संरचना भत्किएका थिए । यसैगरी, २०४५ सालमा पनि ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो, जसमा ७ सय २१ जनाको मृत्यु हुनुका साथै ६५ हजार घर भत्किएका थिए । यस्तै, २०६९ मा ६.८ रेक्टर स्केलको भूकम्प जाँदा ६ जनाले ज्यान गुमाएका थिए भने दर्जनौँ घाइते भएका थिए ।
पछिल्लो पटक २०७२ वैशाख १२ र २९ गतेको भूकम्पमा परेर आठ हजार ८ सय ९१ जना व्यक्तिको मृत्यु हुनुका साथै २२ हजार २ सय व्यक्ति घाइते भए । ६ लाख ८ हजार १ सय ५५ घर पूर्ण तथा २ लाख ९८ हजार ९ सय ९८ हजार घरगोठ आंशिकरुपमा क्षति भएको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ । करिब ३ वर्षअघिको भूकम्पमा क्षति भएका अधिकांश सरकारी तथा निजी भौतिक संरचना अझैसम्म पुननिर्माण हुन सकेका छैनन् । भूकम्प विभिन्न प्राकृतिक प्रकोपमध्ये अत्यन्त शक्तिशाली, डरलाग्दो एवम् विनाशकारी विपत्ति हो । भूकम्प भौगर्भिक उथलपुथलका कारण पृथ्वीको धरातलमा कम्पन हुने या थर्कने प्रक्रिया हो । नेपालमा जुनसुकै बेला भूकम्प आउन सक्ने सम्भावना रहेको भूकम्पविद्हरुले औँल्याएका छन् । भूकम्पजस्तो प्राकृतिक प्रकोप मानवीय प्रयासबाट टार्न नसकिने धु्रवसत्य भए पनि भूकम्पीय असर न्यूनीकरण गर्न भने अवश्य सकिन्छ । भूकम्पीय जोखिम घटाउन सकिने भएकाले यसका निम्ति आवश्यक चेतना एवम् प्रयास बढाउनु जरुरी छ । भूकम्पप्रतिरोधी संरचना निर्माणमा बाध्यकारी व्यवस्था गरिनुपर्छ ।






