राष्ट्रले शहीदको सम्मान गरोस्
राणा शासनको विरोधमा उत्रिँदा फाँसी पाएका चार शहीदलाई विशेष सम्झना गरी शहीद दिवस मनाउने गरिन्छ । आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्ति एवम् लोकहित निम्ति निस्वार्थ बलिदान भएका अमर सयौ व्यक्तिलाई सरकारले शहीद घोषणा गरेको छ । उनै शहीदलाई सम्झिएर आज दिवस मनाउने गरिन्छ । आफ्नो जीवनलाई सफलताका साथ जोगाउने प्रशस्त अवसर हुँदाहुँदै पनि स–सम्मान निडर तथा निर्भीकताका साथ मृत्यु रोज्ने नै शहीद हुन् । शहीदहरूको सम्झना गर्दै उनीहरूप्रति श्रद्धाञ्जली, सम्मान गर्दै उनीहरूले देखाएको पथमा हिँड्न प्रतिबद्धता, प्रतिज्ञा, अठोट गर्ने साथै अन्तरआत्माबाट शपथ खाने दिन शहीद दिवस हो । हाम्रो मुलुकमा २००७ सालको क्रान्तिपछि शहीद दिवस मनाउन थालिएको हो । जहानियाँ राणाशासनविरुद्ध क्रान्तिको शंखघोष गर्दै हाँसीहाँसी फाँसीमा चढ्न र गोली खान पछि नहटेका महान शहीदहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्दलाई मुख्य शहीद मानिएको छ ।
माघ १० गतेदेखि १६ गतेसम्म शहीद सप्ताह र माघ १६ गते शहीद दिवस मनाउने परम्परालाई सबैखाले व्यवस्थामा निरन्तरता दिइएको छ । शहीद दिवसलाई राष्ट्रिय महत्वको बनाउन उक्त दिन विदा दिने परम्परालाई वर्तमान सरकारले तोडे पनि ३ नम्बर प्रदेश सरकारले भने आज सार्वजनिक बिदा घोषणा गरेको छ । राष्ट्रको रक्षा, राष्ट्रियताको संरक्षण र जनअधिकारका निम्ति नागरिक चेतना फैलाउने र निरंकुश सत्ताका विरुद्ध विद्रोहको बिगुल फुक्दै संगठनात्मक अभियान छेड्ने क्रममा निरंकुश सत्ताको कठोर यातना भोग्दै आत्मसमर्पण नगरी जीवन आहुति दिएका महान व्यक्तित्वहरू नै सही अर्थमा शहीद हुन् । १०४ वर्षे जहानीया राणा शासनले नेपालमा जनअधिकारविहीन सत्ता चलाएको इतिहासमा अंकित तथ्य हो । जनअधिकारविहीन निरंकुश जहानीया शासनविरुद्ध आन्दोलन चर्काउने क्रममा धेरै सपूत शहीद बने । २००७ सालमा प्रजातन्त्रको प्रादुर्भाव तिनै सपूतहरूको जीवन बलिदानको परिणाम हो । जीवनको आहुति दिएर नागरिक अधिकारको बहाली गराउने महान शहीदहरू नेपाली जनताका निम्ति अविरल प्रेरणाका स्रोत हुन् । तर, नागरिक अधिकार प्राप्ति र निरंकुशताविरुद्ध जीवन उत्सर्ग गर्ने शहीदहरूको सपनामाथि निरन्तर खेलबाड मात्रै भइरहेको छ ।
शहीद दिवसमा सामान्य प्रभातफेरी गरेर शहीदको शालिकमा माल्यार्पण गर्ने र शहीदका योगदानको सकारात्मक चर्चा गर्नेबाहेक शहीदका सपना पूरा गर्नेतर्फ सरकार र राजनीतिक दलहरु अग्रसर भएको पाइँदैन । शहीद दिवसलाई परम्परागतरुपमा औपचारिक कार्यक्रम गरेर मनाएको जस्तो मात्र गरिँदै आउनुले शहीदको सम्मान हुँदैन । शहीदहरूलाई मार्गदर्शक मानेर त्याग र समर्पणको राजनीतिक संस्कार बसाउन नसक्दा सम्म शहीदको त्याग र बलिदान निरर्थक हुनेछ । जनअधिकारको बहालीबाट सबल, सुदृढ, सुसंगठित र समृद्ध राज्यको परिकल्पना गरेर जीवन बलिदान गर्ने शहीदहरूको उचित सम्मान गरी मुलुकलाई एकताबद्ध बनाउन र आर्थिकरुपमा समृद्ध बनाउन नसकेसम्म सच्चा शहीदहरूको सम्मान हुनसक्दैन ।






