तत्काल दूधको मूल्य बढाउन किसानको माग

साझाकुरा
२०७८ माघ १७, सोमबार १५:४६

चितवनका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन्। उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्। चितवन दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले आइतबार पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो।

दूधको मूल्यमा प्रतिलिटर रु १५ देखि २० सम्म बढाउनुपर्ने उनीहरुको माग छ। सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले यही माघ १ गतेदेखि मूल्य बढ्छ भने पनि अहिलेसम्म नबढेकाले आन्दोलनको तयारीमा लागेको बताए।

सरकारले एक लिटरमा रु १० मूल्य बढाएर किसानलाई रु।सात र डेरी उद्योगीलाई रु तीन दिने तयारी गरेको बताइएको छ। उनका अनुसार हाल दूधको मूल्य किसानले सरदर लिटरमा ५२।५० पर्ने गरेको छ। पशुलाई खुवाउने आहारको मूल्य अत्यधिक वृद्धि भएकाले यो मूल्यले लागत नउठ्ने उनले बताए। न्यौपानेले भने, “दाना, चोक्कर, पराल र औषधिको मूल्य अत्यधिक बढेकाले अहिले उत्पादन लागत नै प्रतिलिटर रु ६३ किसानको पर्ने गरेको छ। त्यसैले किसानलाई लाभ पुग्नेगरी मूल्य बढाउनुपर्छ।” सरकारले तीन वर्षदेखि दूधको मूल्य बढाएको छैन।

हाल जिल्ला ६३ प्रतिशत दुग्ध उत्पादक किसान छन्। यसबाट दैनिक दुई लाख ९० हजार लिटर दूध उत्पादन हुँदै आएको छ। ४३ प्रतिशत दूध बाहिरी जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर, कास्की र मकवानपुरमा जाने सङ्घले जनाएको छ। संघले जारी गरेको विज्ञप्तिमा पशुको उपभोग्य बस्तुमा १० देखि १५ प्रतिशत वृद्धि भएको जनाइएको छ। (रासस_)

यसमा तपाइको मत

Your email address will not be published.


*