क्याम्पस र प्रतिष्ठानबीच शैक्षिक सहकार्यको सम्झौता

साझाकुरा
२०८३ असार ५, शुक्रबार १२:१३

हेटौंडा- शैक्षिक गुणस्तर, अनुसन्धान र विद्यार्थी क्षमता विकासलाई लक्षित गर्दै मकवानपुर बहुमुखी क्याम्पस र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।बिहीबार क्याम्पसमा आयोजित कार्यक्रममा क्याम्पसका तर्फबाट प्रमुख डा. यमबहादुर सिलवाल र प्रतिष्ठानका तर्फबाट रजिष्ट्रार भीमसागर गुरागाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

दुवै संस्थाबीच सम्पन्न समझदारीले उच्चशिक्षा तथा स्वास्थ्य विज्ञान शिक्षाको गुणस्तर सुधार, दक्षजनशक्ति उत्पादन, अनुसन्धान संस्कृतिको विकास तथा विद्यार्थीको व्यावसायिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । सम्झौता अनुसार मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि आवश्यक प्रवेश परीक्षा तयारी कक्षा सञ्चालनमा सहयोग गरिनेछ ।

स्वास्थ्य तथा चिकित्सा शिक्षासम्बन्धी करियर परामर्श प्रदान गर्ने, विद्यार्थीलाई चिकित्सा विज्ञानसँग सम्बन्धित सभा, सेमिनार, कार्यशाला, अनुसन्धान तथा नवप्रवर्तनका कार्यक्रममा सहभागी गराउने व्यवस्था मिलाइनेछ । प्राध्यापकको व्यावसायिक क्षमता अभिवृद्धि, स्वास्थ्यसम्बन्धी अध्ययन अनुसन्धान तथा जर्नल प्रकाशनमा सहकार्य गर्ने विषयलाई समेत प्राथमिकतामा राखिएको छ । स्वास्थ्य विज्ञानका विविध विषयमा विशिष्ट शैक्षिक सत्र सञ्चालन गर्ने तथा अतिथि प्राध्यापकको व्यवस्था मिलाउने सहमति भएको छ ।

सम्झौता अन्तर्गत विद्यार्थीलाई अनुसन्धानसम्बन्धी फिल्डवर्क, व्यवहारिक सिकाइ तथा स्वास्थ्य विज्ञान क्षेत्रका विभिन्न गतिविधिमा संलग्न गराइनेछ । यसबाट विद्यार्थीले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अनुभव हासिल गर्ने अवसर प्राप्त गर्ने विश्वास गरिएको छ । संयुक्त अनुसन्धान कार्यक्रम सञ्चालन, अनुसन्धान प्रस्तावलेखन, अनुसन्धान विधि, तथ्यांक विश्लेषण, शैक्षिकलेखन तथा सामुदायिक स्वास्थ्यसँग सम्बन्धित अनुसन्धानका क्षेत्रमा सहकार्य गरिनेछ । स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन तथा अनुप्रयुक्त अनुसन्धानलाई प्रोत्साहन गर्ने विषयलाई विशेष महत्व दिइएको छ ।

सम्झौतापछि आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रा.डा. प्रदीप ज्ञवालीले सामाजिक उत्तरदायित्व बहन गर्दै स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने विषयमा सहकार्य विस्तार गर्न प्रतिष्ठान इच्छुक रहेको बताएका छन् । विद्यार्थीले हासिल गरेका ज्ञान, सीप र सिकाइलाई व्यवहारमा रुपान्तरण गर्न प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाई थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त पौडेलले सम्झौताबाट क्याम्पस र प्रतिष्ठान दुवै लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् । विगतको तुलनामा मकवानपुरको स्वास्थ्यक्षेत्रले उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै उनले यस्ता सहकार्यले शैक्षिक तथा स्वास्थ्यक्षेत्रको विकासमा थप टेवा पुग्ने बताए ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री तथा क्याम्पसका पूर्वअध्यक्ष डोरमणि पौडेल, पूर्वअध्यक्ष माईकल रामचन्द्र अर्याल, सञ्चालक समिति सदस्य नवराज बिष्ट, डीन डा. इन्दिरा अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायत क्याम्पसका प्राध्यापक, विद्यार्थीको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*