एक महिने अधिकमासस्नान तथा पुरुषोत्तम महात्म्य समापन
हेटौंडा-थाहा नगरपालिका–२ सोल्टुस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मत्स्यनारायण मन्दिरमा एक महिनादेखि सञ्चालन हुँदै आएको अधिकमास स्नान तथा पुरुषोत्तम महात्म्य कार्यक्रम विधिवतरुपमा सम्पन्न भएको छ । धार्मिक आस्था, परम्परा र समुदायको एकतालाई उजागर गर्ने अनुष्ठान समापनसँगै मन्दिर परिसर भक्तजनको उपस्थितिले भरिभराउ बनेको थियो ।
मन्दिर निर्माण समितिका अध्यक्ष सीताराम बिष्टका अनुसार वैशाख ३० गते मन्दिरको प्राणप्रतिष्ठासहित विशेष धार्मिक कार्यक्रम आयोजना गरिएको थियो । त्यसलगत्तै जेठ २ गतेदेखि असार १ गतेसम्म पुरुषोत्तम महात्म्य कथा वाचन, पूजाआराधना तथा स्नान सञ्चालन गरिएको हो । एक महिनासम्म निरन्तर सञ्चालन भएको धार्मिक अनुष्ठानमा स्थानीय भक्तजनका साथै विभिन्न स्थानबाट आएका श्रद्धालुको उल्लेखनीय सहभागिता रहेको थियो ।
धार्मिक वातावरणबीच कथाश्रवण, भजनकीर्तन, पूजा तथा स्नानका कार्यक्रम सम्पन्न भएका थिए । समापनमा अध्यक्ष बिष्टले मन्दिर निर्माणदेखि धार्मिकअनुष्ठान सम्पन्न गर्न सहयोग पु¥याउने सम्पूर्ण दाता, भक्तजन, स्वयंसेवक तथा स्थानीय वासीप्रति आभार व्यक्त गरे । ‘सबैको साथ, सहयोग र सद्भावका कारण यो पुण्यकार्य सफलतापूर्वक सम्पन्न गर्न सकेका छौं,’ उनले भने । कार्यक्रमको अवसरमा मन्दिर निर्माण तथा धार्मिक गतिविधिमा आर्थिक, भौतिक र नैतिक सहयोग पु¥याउने दातालाई सम्मानसमेत गरिएको थियो । सम्मानित व्यक्तिले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
मन्दिर निर्माण समितिका सचिव नवराज बिष्टकाअनुसार पालुङ–सोल्टुका स्वर्गीय शमशेरबहादुर बस्नेतले आफ्नै लगानीमा मन्दिर स्थापना गरेका थिए । उनले नित्यपूजा सञ्चालन गर्नुका साथै प्रत्येक तीन वर्षमा पर्ने अधिकमास (पुरुषोत्तम महिना) भर पुरुषोत्तम महात्म्यश्रवण र विशेष पूजाआराधनाको व्यवस्था गर्दै आएका थिए । उनका सन्ततिले केही वर्षअघिसम्म परम्परालाई निरन्तरता दिएपनि पछिल्लो समय विभिन्न कारणले महात्म्य सञ्चालनको क्रम रोकिएको थियो
। तर, मन्दिरसँग जोडिएको धार्मिक आस्था भने निरन्तर जीवित रह्यो । प्रत्येक पुरुषोत्तम महिनामा मन्दिरको ढोका खोल्ने, नजिकैको खोलामा निर्माण गरिएको कुण्डमा स्नान गरी शुद्ध भएर भगवानको पूजा गर्ने परम्परा स्थानीय समुदायले जोगाउँदैआएका छन् ।
सचिव बिष्टले अब धार्मिक परम्परालाई नियमित र व्यवस्थित रुपमा अगाडि बढाउने लक्ष्यका साथ मन्दिरको थप स्तरोन्नति गरिने जानकारी दिए । उनले मत्स्यनारायण मन्दिरलाई धार्मिक पर्यटन तथा आध्यात्मिक केन्द्रकारुपमा विकास गर्ने योजना रहेको बताए । स्थानीयकाअनुसार लामो समयपछि पुनःसञ्चालन भएको पुरुषोत्तम महात्म्य र मलमास स्नान कार्यक्रमले धार्मिक चेतना जागृत गराउनुका साथै पुरानो सांस्कृतिक परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको छ । उनीहरुले आगामी दिनमा पनि यस्ता धार्मिक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।
धार्मिक आस्था, ऐतिहासिक विरासत र सामुदायिक एकताको प्रतीक बनेको मत्स्यनारायण मन्दिरमा सम्पन्न यो महाअनुष्ठानले स्थानीय धार्मिक जीवनमा नयाँ ऊर्जा थप्नुका साथै लोपोन्मुख बन्दै गएको परम्परालाई पुनर्जीवित गर्ने विश्वास गरिएको छ ।







