मक्राञ्चुलीमा स्वस्थ्य बच्चा प्रतियोगिता

साझाकुरा
२०८३ असार ४, बिहीबार १२:३३

हेटौंडा- मकवानपुरगढी गाउँपालिका–३ स्थित मक्राञ्चुली सामुदायिक स्वास्थ्य इकाइले बालबालिकाको स्वास्थ्य,पोषणअवस्था तथा अभिभावकको स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुधबार स्वस्थ्य बच्चा प्रतियोगिता आयोजना गरेको छ ।प्रतियोगितामा ६ महिना देखि २३ महिनासम्म उमेर समूहका ४२ जना बालबालिकाको सहभागिता रहेको थियो। ६ देखि १२ महिनासम्मको उमेर समूहमा आनाया गोले प्रथम, सोवित न्यौपाने द्वितीय तथा अनिका आचार्य तृतीय भएका छन् ।

त्यस्तै १३ देखि २३ महिनासम्मको समूहमा सत्यम पौडेल प्रथम, अनिता डिमडुङ द्वितीय तथा जोयल न्यौपाने तृतीय भएका छन् । उत्कृष्ट स्थान हासिल गर्ने बालबालिकालाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो भने अन्य सहभागीलाई सान्त्वना पुरस्कार वितरण गरिएको थियो ।प्रतियोगितामा बाल बालिकाको मूल्यांकन गर्भावस्थादेखिको स्वास्थ्य हेरचाह, गर्भवतीको नियमित स्वास्थ्य परीक्षण, संस्थागत प्रसूति, जन्मपश्चात् नियमित खोप, वृद्धि अनुगमन, तौल तथा उचाइमापन, पोषणअवस्था तथा समग्र स्वास्थ्य व्यवस्थापनलगायत सूचकका आधारमा गरिएको थियो । यसले बालबालिकाको स्वास्थ्य अवस्थासँगै अभिभावकको स्वास्थ्य सचेतना र जिम्मेवारीबोधलाई प्रोत्साहित गरेको मक्राञ्चुली सामुदायिक स्वास्थ्य इकाइका प्रमुख नारायण घोरासैनीले बताए ।

मकवानपुरगढी गाउँ पालिका–३ का वडाअध्यक्ष भागवत घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले यस्ता कार्यक्रमले बालबालिकाको संरक्षण, स्याहारसुसार तथा स्वास्थ्यप्रति अभिभावकको जिम्मेवारीबोध गराउने विश्वास व्यक्त गरे । आगामी वर्षमा पनि प्रतियोगितालाई निरन्तरता दिइने उल्लेख गर्दै उनले गाउँपालिकाले स्वास्थ्यक्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । अध्यक्ष घिमिरेले स्वास्थ्य सेवालाई घरदैलोमै पु¥याउने लक्ष्यसहित स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिँदै आएको जानकारी दिए ।

बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य सेवामा विशेष ध्यान दिइएको उल्लेख गर्दै उनले मकवानपुरगढी सामुदायिक अस्पताल सञ्चालनको तयारी अन्तिमचरणमा पुगेको र प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरिसकेकोले अस्पताल छिट्टै सञ्चालनमा आउने बताए । ‘स्वास्थ्य सबैभन्दा महत्वपूर्ण विषय हो, त्यसमा पनि बालबालिकाको स्वास्थ्य अझ संवेदनशील र महत्वपूर्ण पक्ष हो,’ उनले भने, ‘भोलिका कर्णधारका रुपमा रहेका बालबालिकालाई स्वस्थ, तन्दुरुस्त र सक्षम बनाउन अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । यस्ता कार्यक्रमले अभिभावकलाई थप सचेत, जिम्मेवार र प्रेरित बनाउँछन् ।’

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धुव्र लामिछानेले बालबालिकाको नियमित खोप, स्वास्थ्यपरीक्षण तथा उचित स्याहारसुसारमा अभिभावकलाई थप जिम्मेवार र सचेत बनाउन प्रतियोगिता आयोजना गरिएको बताए । गाउँपालिकाले बालस्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ थियो । वडा नं. ४ का स्वास्थ्य इकाइ प्रमुख लक्ष्मण दाहालले बालबालिकालाई नियमित खोप लगाउने, समयसमयमा स्वास्थ्यपरीक्षण गराउने तथा पोषणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । स्वास्थ्य संस्थाले बालबालिकादेखि गर्भवती महिला र अन्य सेवाग्राहीलाई समेत प्राथमिकताका साथ सेवाप्रदान गर्दै आएको उनले बताए ।

पुरस्कृत बालबालिकाका अभिभावकका तर्फबाट शोभा लामिछानेले यस्ता कार्यक्रमले आमाबुबालाई आफ्ना बालबालिकाको स्वास्थ्य, पोषण र हेरचाहप्रति थप जिम्मेवार बन्न प्रेरणा मिल्ने बताइन् । बालबालिकाको स्वास्थ्य सुधार र अभिभावकमा चेतना अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा वडा सचिव सोनिका अर्याल दाहाल, स्वास्थ्य स्वयंसेविका, विभिन्न संघसंस्थाका प्रतिनिधि, सहभागी बालबालिकाको अभिभावक लगायतको उपस्थिति रहेको थियो । मक्राञ्चुली सामुदायिक स्वास्थ्य इकाइका स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा कर्मचारीको सहभागिता रहेको कार्यक्रमको सहजीकरण इकाइप्रमुख नारायण घोरासैनीले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*