मकवानपुरमा घट्दै कोरोना संक्रमण

साझाकुरा
२०७८ माघ १८, मंगलवार १०:२४

हेटौंडा-एक महिनायता मकवानपुरमा उकालो लागेको  कोरोना भाइरस संक्रमण दर चार दिन देखि ओरालो लाग्न थालेको छ । मकवानपुरमा पुस महिनायता कोरोना भाइरस संक्रमणको तेस्रो लहरबाट दैनिक परीक्षण  गराएका मध्ये ६० प्रतिशत संक्रमित भएका थिए । तीन दिनदेखि यो दर क्रमशः ओरालो लाग्न थालेको हो । गत शुक्रबार, शनिबार, आइतबार र सोमबारको तथ्यांक अनुसार संक्रमित हुनेभन्दा संक्रमित– मुक्त हुनेको संख्या बढेका छन् ।

जिल्लामा सोमबार एकैदिन १ सय ६६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, होम आइसोलेशनमा बसेका १ सय ६१ जना र संस्थागत आइसोलेशनमा बसेका ५ जना गरी १ सय ६६ जना संक्रमणमुक्त भएका हुन् । संक्रमण– मुक्त हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरका छन् । हेटौंडाका ९८ जना संक्रमणमुक्त भएका हुन् ।
संक्रमणमुक्त हुनेमा थाहा नगरपालिकाका १९, मकवानपुरगढी गाउँपालिकाका १५ जना, मनहरी गाउँपालिकाका २२ जना, इन्द्रसरोवर गाउँपालिकाका ३ जना, भीमफेदी गाउँपालिकाका २ जना र बकैया गाउँपालिकाका ७ जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या १७ हजार ५३ जना पुगेको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा ४१ जनाको पीसीआर र ६१ जनाको एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा विगत ४ दिनदेखि कोरोना संक्रमितको संख्या घटेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा आइतबार ५३ जनामा संक्रमण पुष्टि भएको थियो । यो संख्या बिहिबार र शुक्रबारको तुलनामा ओरालो लागेको हो । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख भीमसागर गुरागाईंका अनुसार, जिल्लामा बिहिबार ९१ जना र शुक्रबार ८१ मा संक्रमण पुष्टि भएको थियो । शनिबार सार्वजनिक बिदा भएकाले परीक्षण गरिएको थिएन । जिल्लामा गत माघ १० सम्म सक्रिय सक्रमितको संख्या १ हजार ७ सय २७ पुगेको थियो । आइतबार यो संख्या घटेर ६ सय ९३ मा झरेको छ ।

‘एक सातामै हजारभन्दा बढी संक्रमित निको भइसकेका छन् भने थपिने संख्या पनि घट्दै गएको छ,’ उनले भने, ‘अहिले हेटौंडा अस्पतालमा १२ जना उपचाररत छन् । ६ सय ८१ जना घरमै छन् ।’ आइतबार थप १ सय ९६ जना संक्रमणमुक्त भएका छन् । ४ दिनयता कोरोनाकै कारण कसैको पनि मृत्यु भएको छैन । मकवानपुरसँगै देशभर एक सातादेखि संक्रमण निरन्तर ओरालो लागेको छ । गत सोमबारदेखि नमुना परीक्षणको आधारमा संक्रमणदर घट्दै गएको हो । ८ माघमा ५० प्रतिशत भन्दा माथि पुगेको संक्रमणदर बिस्तारै ओरालो लाग्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार आइतबार परीक्षण गरिएका नमुनाका आधारमा २६.९ प्रतिशतमा मात्रै संक्रमण देखिएको छ ।

गत सोमबार ४८.७ प्रतिशत, मंगलबार ४६.३ प्रतिशत, बुधबार ४१.५ प्रतिशत, बिहीबार ३६.८ प्रतिशत, शुक्रबार ३४.४ प्रतिशत र शनिबार ३३.७ प्रतिशतमा संक्रमण देखिएको थियो । संख्यात्मक रुपमा सबैभन्दा धेरै ६ माघमा एकैदिन १२ हजार तीन सय ३८ जनामा संक्रमण देखिएको थियो । सो दिन २७ हजार चार सय ९७ जनाको परीक्षण भएको थियो । संक्रमित र कोरोना परीक्षणको यो संख्या नेपालमा कोरोना संक्रमण पुष्टि भएयताकै सबैभन्दा उच्च हो ।

२० पुससम्म दुई सयको हाराहारीमा रहेको दैनिक संक्रमण २१ पुसबाट दैनिक दोब्बरको संख्याले बढ्दै गएको थियो । आइतबार १३ हजार एक सय ४५ जनामा परीक्षण गर्दा तीन हजार पाँच सय ४० जनामा संक्रमण देखिएको  हो । हाल देशभर ८३ हजार नौ सय ९९ जना सक्रिय संक्रमित  रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सवारी साधनमा जोर–बिजोर प्रणाली लागू हुनु, विद्यालय बन्द गरिनु र सार्वजनिक स्थानमा भिडभाड घटाइएका कारण संक्रमण घटेको चिकित्सकहरूले बताएका छन् ।

संक्रमण भएपनि गम्भीर स्वास्थ्य समस्या नदेखिएका कारण परीक्षण नगरी घरमै बस्नेको संख्या धेरै रहेकाले संक्रमणदर कम देखिएको चिकित्सकहरुको भनाइ छ । ७० देखि ७५ प्रतिशतमा संक्रमण भइसकेका कारणसमेत बिस्तारै संक्रमण घट्दै जाने जीवाणुविज्ञ डा. सन्तोष दुलाल बताउँछन् । ‘संक्रमण उच्च बिन्दुमा पुगेर बिस्तारै ओरालो लागेको हो । भारतमा पनि अहिले संक्रमणदर यही ट्रेन्डमा छ । तर, संक्रमण शान्त हुन अझै दुई देखि तीन सातासम्म लाग्न सक्छ,’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*