दरबारडाँडामा बाटो पु¥याउनै पर्छ
मकवानपुर जिल्लाको बकैया गाउँपालिकाको वडा नं. ७ स्थित दरबारडाँडामा मोटरबाटो नपुगेकै कारण ढुवानीमा समस्या आएपछि हेलिकोप्टर चार्टर्ड गरेर ट्रान्सफर्मर ढुवानी गर्नुपरेको दुःखद् समाचार बाहिरिएको छ । वडाको चुनढुंगादेखि दरबारडाँडासम्म जोड्ने मोटरबाटो निर्माण गर्न वन कार्यालयले रोकेपछि बाटो निर्माण हुन सकेन । मोटरबाटो नभएको कारण विद्युत् ट्रान्सफर्मर ढुवानी गरेर लैजान नसक्दा गाउँपालिकाको ७० घरधुरी रहेको दरबारडाँडाका स्थानीयले टुकीबत्तीको सहारामा गुजारा गर्नुपर्ने बिडम्बना कायम छ ।
नेपाल विद्युत् प्राधिकरण हेटौंडा वितरण केन्द्रले यसअघि पोल गाडेर तार टाँगिसकेको भएपनि चार सय केजी तौल रहेको ट्रान्सफर्मर ढुवानी गर्न नसक्दा स्थानीयहरु विजुली बाल्नबाट बञ्चित भइरहेका थिए । तर, गाउँपालिका अध्यक्ष दामोदर खनाल, नेपाली काँग्रेस पार्टीका बकैया गाउँपालिका सभापति दिलबहादुर बोम्जन र महाधिवेशन प्रतिनिधि ताराचन्द्र बजगाईंले व्यक्तिगत खर्चमा हेलिकोप्टर चार्टर्ड गरेर दरबारडाँडामा ट्रान्सफर्मर पु¥याएका छन् । उनीहरु धन्यवादका पात्र भएका छन् । अब ढिलै भएपनि दरबारडाँडाका स्थानीयले बिजुली त बाल्न पाउने भएका छन् । तर, विकासका अन्य आयामहरुमा दरबारडाँडाका स्थानीयबासीले कहिले सुविधा पाउने ? बिजुलीको ट्रान्सफर्मर ढुवानी त प्रतिनिधि घटनामात्र हो, मोटरबाटो नहुँदा दरबारडाँडाका स्थानीयले दैनिक उपभोग्य सामान ढुवानीदेखि उत्पादित कृषि उपज बजार लैजान नपाउँदा आयआर्जनमा ठूलो क्षति व्यहोरिरहेका छन् । विद्यार्थीहरु अध्ययनको लागि नजिकको विद्यालय जान समस्या भोगिरहेका छन् ।
समुदाय परिचालन भएसंगै नेपालको वन संरक्षणमा ठूलो सफलता प्राप्त भएको हो । समुदायले नै संरक्षण गरेको वनका कारण यतिखेर देशव्यापी बाटो निर्माणमा बाधा परेको छ । नेपालको भौगोलिक अवस्थाअनुसार नयाँ बाटो खन्ने स्थानहरुमा प्रायः वन क्षेत्र नै पर्दछ । त्यसैले न्यूनतम क्षतिमा विकट गाउँहरुमा बाटो बनाउन सहजीकरण गर्नुको विकल्प छैन । स्थानीय सरकार र वन कार्यालयको सहकार्यमा वनको कमभन्दा कम क्षतिमा बाटो बनाउने नमूना योजनाको रुपमा दरबारडाँडा जोड्ने मोटरबाटो निर्माण गरेर भविष्यमा मोटरबाटो नै नभएका कारण स्थानीयले भोग्नुपरेको अप्रिय घटनाको समाचार नबनोस् । यसतर्फ सचेत बनौं ।






