सिकाई उपलब्धिमा जोड दिनु आवश्यक

साझाकुरा
२०७८ फाल्गुन ३, मंगलवार ११:४३

कोरोना कहरको कारण विद्यालयको पठनपाठन कार्यमा समस्या परेपछि विद्यार्थीहरुको सिकाई उपलब्धिमा धेरै असर परेको छ । भौतिकरुपमै उपस्थित गराएर कक्षा सञ्चालन गराउँदा कोरोना भाइरस संक्रमण विद्यार्थीहरुमा फैलिने त्रासका कारण विद्यालय पटकपटक बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था हामीमाझ छिपेको छैन । एक शैक्षिक वर्षमा दुईसय २० दिन पढाई हुनुपर्नेमा यस शैक्षिक वर्षमा मुस्किलले आधा समय भौतिक उपस्थितिमा पढाई हुने देखिएको छ । यसले विद्यार्थीको सिकाई उपलब्धिमा ठूलो नकारात्मक प्रभाव परेको छ ।

कोरोनाको कारण भौतिक उपस्थिति रोकेपछि निजी विद्यालयहरु अधिकांशले अनलाइन माध्यमबाट पठनपाठन गरेका छन् भने सामुदायिक विद्यालयहरुमा शहरी क्षेत्रका विद्यार्थीको मात्र अनलाइन माध्यममा पहुँच पुगेको देखियो । यसले अनलाइन सुविधा पाएका विद्यार्थी र अनलाइन पढाईको सुविधा नपाएका विद्यार्थीबीचमा सिकाईको ठूलो खाडल देखिएको छ । अब, यसलाई कसरी समायोजन गरेर मूल्याड्ढन प्रक्रियालाई मान्यता दिने भन्ने ठूलो समस्या छ । चालु शैक्षिक वर्षमा कतिपय पालिकाहरुमा अर्धवार्षिक परीक्षा सम्पन्न भएको छ त कतिपयमा बीचैमा परीक्षा स्थगित गरेको पाइएको छ । अर्धवार्षिक परीक्षापछि फागुन १ गतेदेखि विद्यालयहरुमा भौतिक उपस्थितिमै पढाई सुरु भएको छ । तर, विद्यालयमा विद्यार्थीको उपस्थिति संख्या अत्यन्तै कम भएका कारण पूर्णरुपमा पढाई हुन नसकेको समाचार आएका छन् ।

विद्यालय बन्द हुँदा यसै सिक्न नपाउने, विद्यालय खुल्दा विद्यार्थीको उपस्थिति प्रभावकारी नभएका कारण सिकाई उपलब्धिमा झन् समस्या देखिएको छ । त्यसैले, शैक्षिक वर्षको बाँकी समयलाई सिकाई उपलब्धिमा बढाउन अभिभावकहरुले आफ्ना बालबालिकालाई अनिवार्य विद्यालय पठाउने, विद्यालयले पनि अतिरिक्त कक्षाहरु सञ्चालन गर्ने, शिक्षकहरुले यो समयलाई उपलब्धिमूलक बनाउन यो वा त्यो बाहाना नगरी नियमित पठनपाठन क्रियाकलापमा सहभागी हुने र शिक्षाका नियमन निकायले निरन्तर अनुगमन र सुपरीवेक्षणको पाटोमा ध्यान दिनु जरुरी देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*