मल उत्पादन चाँडो गर
.मुख्य आम्दानीको स्रोत कृषि रहेको नेपालमा कृषिको लागि अति आवश्यक रासायनिक मलको भने सधैं अभाव हुने गरेको तथ्या छिपेको छैन । जतिखेर बालीनालीमा मल हाल्ने बेला हुन्छ, त्यतिखेर मलको हाहाकार मच्चिने गरेको छ । अनुदानमा भारतबाट आयात हुने गरेको मल वितरणको व्यवस्था मिलाउन पनि सरकारलाई हम्मेहम्मे पर्दै आएको छ । कयौं वर्षौदेखि भोग्दै आएको यो समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न बागमती प्रदेश सरकारले आफ्नै स्वामित्वमा मल कारखाना खोल्ने तयारी गरेको छ । यो स्वागतयोग्य विषय हो ।
बागमती प्रदेशले मल कारखाना खोल्ने घोषणा गरेसंगै काठमाडौं विश्वविद्यालयले यससम्बन्धमा विशेष चासो दिएको छ । विश्वविद्यालयको प्राविधिक टोलीले प्रदेशको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयसंग यस विषयमा छलफल गरेको समाचार बाहिरिएको छ । विश्वविद्यालयको प्राविधिक टोलीले मल उत्पादन गर्ने विभिन्न प्रविधिमध्ये हाइड्रोजन प्रविधिबाट मल उत्पादन गर्न उपयुक्त हुने सुझाव पनि दिएको छ । नेपालमा पानी र विद्युत्को पर्याप्त उपलब्धता रहेका कारण हाइड्रोजन प्रविधिबाट रासायनिक मल उत्पादन सहज हुने प्राविधिकको सल्लाह रहेकोमा त्यसलाई मन्त्रालयले आवश्यक प्रक्रियामा लैजान अब ढिला गर्नु हुन्न । विश्वका अन्य मुलुकहरुले मल उत्पादन पेट्रोल र डिजल प्रयोगलाई विस्थापन गरेर हाइड्रोजनबाट मल उत्पादन गरिरहेको अवस्थामा नेपालमा पनि कम खर्चमा हाइड्रोजन प्रविधिबाट मल उत्पादन गर्न सकिने प्राविधिकको सल्लाह उचित मान्न सकिन्छ ।
मल उत्पादन प्रदेश सरकारले प्राथमिकताको विषय बनाइरहँदा यसमा केन्द्र सरकारसंग समन्वय गर्दै नेपाल विद्युत् प्राधिकरणको सहुलियत दरमा विद्युत् उपलब्धतासमेत सुनिश्चित हुने गरी मल उत्पादनमा अब ढिला गर्नु हुँदैन । मल महंगो भएको र समयमा उपलब्ध नहुने हुँदा कतिपय किसानहरुले सम्भावना भएको ठाउँमा पनि खेतीपातीबाट विस्थापन हुने वातावरण रहेकोमा अब सरकारले उत्पादकत्व बढाउन यो विषयलाई विशेष ध्यान दिनु आवश्यक छ । यसमा सरकारले निजी, सहकारी र सार्वजनिक क्षेत्रलाई समेत समेटेर अगाडि बढाउने योजना बनाएको कारण अझ सहज हुने हुँदा अब कारखाना खोलेर मल उत्पादनमा ढिलाई गर्नु हुन्न ।






