मान्छे देख्दा भाग्ने सन्तोषीको मान्छे बनाउने अभियानमा सघाऔं
मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ४ नयाँ गाउँस्थित वनकरिया बस्तीमा अहिले उदाहरणीय व्यक्तिको रुपमा परिचित छिन्, सन्तोषी वनकरिया । जड्डलमा जन्मिएर ९ वर्षसम्म जड्डलमै हुर्किएर त्यसपछि मात्र अक्षरारम्भ गरेकी सन्तोषी यतिखेर वनकरिया बस्तीका बालबालिकालाई शिक्षित बनाउने अभियानमा जुटेकी छन् । उनले सोचेकी थिइनन् कि आफू यति शिक्षित भएर गाउँका भाइबहिनीहरुलाई पढाउन सक्छु । लोपोन्मुख वनकरिया जातिको एक सदस्य भएर जन्मिएकी सन्तोषीले आफूलाई यति सामाजिकरुपमा अगाडि बढाउन सक्छु कि सक्दिनँ सोच्न सक्ने अवस्थामा थिइनन् । तर, आज आफ्नो समुदायका व्यक्तिहरुलाई शैक्षिक तथा व्यावसायिकरुपमा अगाडि बढाउन पाएकोमा उनी खुशी छिन् ।
एकताका जड्डली जीवन बिताउने, पेटभरि खान नपाउने, शिक्षा नपाउने, पिउने पानीको पर्याप्त व्यवस्था नभएको, यातायातको व्यवस्था नभएको, शिक्षाको उपलब्धता नभएको, सरसफाईको उचित प्रबन्ध नभएकोलगायत धेरै समस्याबीच जड्डलको बास भइरहेको अवस्थामा तत्कालीन जिल्ला विकास समितिले हाँडीखोलाको मुसेधाप भन्ने स्थानमा वनकरियाहरुको बासस्थान व्यवस्थापन गरेको थियो । त्यसलगत्तै जिविसलगायत अन्य गैरसरकारी संस्थाहरुले उनीहरुको गाँस, बास, कपास, शिक्षादीक्षा, स्वास्थ्योपचार, सरसफाईलगायत क्षेत्रमा सहयोग गरेको थियो । त्यससंगै तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले खानासमेत खाएर एकरात वनकरिया बस्तीमा रातसमेत बिताएका थिए । त्यसबाट पनि वनकरिया बस्तीका बासिन्दामा छुट्टै उत्साह थपिएको थियो ।
यतिखेर सन्तोषीले जेटीए अध्ययन पूरा गरेकी छन् । आफ्नो अध्ययन पूरा गरेर घर फकिँदा गाउँमा सबै अशिक्षित देख्दा दुःखी उनले अब गाउँका सबै बालबालिकालाई पढाउने अभियान थालेकी छन् । अहिले सन्तोषीसंग पढ्ने ३३ जना बालबालिका छन् । हिजो आफूलाई पढ्न्पर्छ भन्ने मानिस नहुँदा आज उनले पढ्नुपर्छ भनेर जम्मा गरेको ३३ जना हुँदा उनी खुशि छिन् । गाउँमा मान्छे आउँदा भाग्ने सन्तोषी आज सामान्य मान्छेसरह आम्दानी गर्न सक्ने र गाउँमा अन्य मान्छे आउँदा नडराउने मान्छे बनाउने अभियानमा लागेकी छन् । हिजो जिविस र अन्य गैरसरकारी संस्थाहरुको लगानीमा सन्तोषी सक्षम भइन् अब सन्तोषीले चाहेजस्तो निडर र आर्थिकरुपमा सबल वनकरिया बालबालिका उत्पादन गर्न सबैको सहयोग आवश्यक छ ।






