महिलामाथि मानसिक हिंसा डरलाग्दो अवस्था
पछिल्लो समय महिला हिंसाको स्वरुपमा परिवर्तन हुँदै गएको छ । महिलामाथि शारीरिक हिंसाको रुपमा कुटपिटका घटनाहरु धेरै आउने गरेकोमा अहिले मानसिक हिंसाका घटनाहरु हुवात्तै बढेको पाईएको छ । प्रहरीसम्म आइपुग्ने उजुरीमा अहिले कुटपिट दश प्रतिशतको हाराहारीमा मात्रै देखिएको छ । प्रहरीमा दर्ता हुने उजुरीमध्ये मानसिक हिंसाका घटनाहरु ९० प्रतिशत बढी देखिएको हो । चालु आर्थिक वर्षमा कुल दुईसय ४६ वटा हिंसासम्बन्धी उजुरी परेकोमा एकसय ५९ वटा मिलापत्रमा टुंगिएको पाइएको छ । जसमध्ये एकसय ५६ वटा मानसिक यातनासम्बन्धी रहेको पाइएको छ । लालनपालन नगर्ने, पत्नीलाई वास्ता नगर्ने, औषधी उपचार नगरिदिने, घरमा बस्न नदिने, आयआर्जन हुने काम गर्न नदिने, विवाह दर्ता नगरिदिने, नागरिकता नबनाइदिने जस्ता मानसिक यातना दिने गरेको उजुरी बढी आएको प्रहरी तथ्याड्ढ छ ।
पतिपत्नीको झगडा परालको आगो भन्ने उखान प्रचलित थियो । तर, अहिले महिलामाथि हुने गरेको हिंसाका घटना परालको आगो नभएर भुसमा सल्किएको आगोको रुपमा देखिएको छ । परालको आगो एकैछिन लाग्छ र निभ्छ तर, भुसको आगो बाहिर त्यति देखिँदैन भित्रभित्रै खरानी भइसकेको हुन्छ । यसैगरी समाजमा पतिपत्नीबीचको सम्बन्ध त्यस्तै हुँदै जाँदा भविष्यमा समाज कता जाला भन्ने चिन्ताको विषय थपिएको छ । पछिल्लो समय बढेको मोबाइलमा इन्टरनेटको पहुँचबाट परस्त्री वा परपुरुषसंग बढ्ने सम्बन्ध यसको मुख्य कारणको रुपमा देखिएको छ । परस्त्री वा
परपुरुषसंगको सम्बन्धले परिवारको पतिपत्नीबीचको मायामा आउने कमीका कारण सुस्तरी मानसिक हिंसाको रुपमा परिणत भएको हुन्छ ।
कुटपिटका घटनामा पतिपत्नीबीच मिलापत्र हुँदा भविष्यमा थप हिंसा हुने सम्भावना कम हुन्छ तर, मानसिक तनावमा मिलापत्र त हुन्छ तर, त्यसले मन शान्त हुने र ढुक्कले बस्ने वातावरण बन्दैन, जसका कारण बालबालिकाहरुमा पनि त्यसको नकारात्मक असर परेको हुन्छ । विवाह दर्ता र नागरिकताको समस्याका कारण त्यस्ता दम्पतिबाट जायजन्म भएका बालबालिकाको जन्मदर्ता र नागरिकतासमेत बनाउन समस्या हुन्छ । त्यसैले भएको ३५ दिनभित्र घटना दर्ताको काम गर्नुपर्छ । र, मानसिक यातनाको दर घटाउन जनचेतना जगाउने कार्यलाई तीव्रता दिनुपर्दछ ।






