मूल्यबृद्धि नियन्त्रणमा चासो दिनु अपरिहार्य
विभिन्न कारण देखाउँदै निर्माण सामग्रीहरुमा मूल्यबृद्धि भइरहँदा सार्वजनिक निर्माणका कामहरु अत्यन्तै प्रभावित हुँदै आएका छन् । निर्माण व्यवसायीहरुको साझा संस्था निर्माण व्यवसायी संघ मकवानपुरले निर्माण सामग्रीहरुमा अस्वाभाविक मूल्यबृद्धि भइरहेको भन्दै यसलाई तत्काल रोक्न माग गरेको छ । मूल्यबृद्धि नरोके निर्माण व्यवसायीहरु थप आन्दोलित हुने संकेतसमेत संघले दिएको छ । सार्वजनिक खरिद ऐनअनुसार निर्माण र सप्लाईको कामको जिम्मा लिने व्यवसायीहरुले छोटो समयमा हुने मूल्यबृद्धिको कारण ठूलो समस्या भोग्न बाध्य भएको देखिएको छ ।
नेपालमा पछिल्लो समय नाम चलेका निर्माण कम्पनीहरुले सम्झौता गरेका निर्माणका ठूला कामहरु अलपत्र भएका समाचारहरु बाहिरिरहेका छन् । सम्झौता भएको मितिभन्दा धेरै वर्ष पछिसम्म ती कामहरु सम्पन्न गर्न नसकेको समाचारमा उल्लेख भइरहेका छन् । ठेक्का सम्झौताको अवस्थामा एउटा दररेट हुने तर, सम्झौता पछि बजारमा सामान खरिद गर्न जाँदा जिल्ला दररेटभन्दा धेरै बृद्धि भइसकेको हुने कारण व्यवसायीले काम नगरेको पाइएको छ । कुनैपनि व्यवसाय केही नाफाको उद्देश्यसहित गरिन्छ । जुन ठेक्कामा काम गर्दा घाटा हुने देखिएको हुन्छ, त्यस्ता ठेक्कामा व्यवसायीहरुले काम गर्न रुचाउँदैनन् । जानाजान घाटा हुने काम व्यवसायीहरुले कसरी गर्छन् ?
निर्माण व्यवसायीहरुले कामको जिम्मा लिएर समयमै सम्पन्न नहुनुमा मूल्यबृद्धि प्रमुख कारण रहेको पाइएको छ । त्यसलाई न्यूनीकरण गर्न सरकारले उचित नीतिगत पहल कदमी थाल्नु अपरिहार्य भइसकेको छ । एकातिर ठेक्का रकमभन्दा ज्यादै न्यून दरमा ठेक्का सकार गरेर लिने र पछि मूल्यबृद्धि कै कारण विकास हुन नसक्दा नेपाली जनताहरुले उपभोग गर्न पाउने विकास निर्माण अलपत्र अवस्थामा रहेको पाइएको छ । मूल्यबृद्धि एउटा निश्चित समय र अवस्थामा हुन्छ तर, निरन्तर हुने मूल्यबृद्धिका कारण विकास निर्माणमा प्रत्यक्ष असर परिरहेको हुँदा त्यसको नियन्त्रणमा सबै पक्षहरुले चासो दिनुपर्ने अपरिहार्य छ ।






