बालमैत्री कायम राख्न सक्रियता जरुरी

साझाकुरा
२०७८ चैत्र १४, सोमबार १०:१५

मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकालाई शनिबार बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषित गरिएको छ । योसंगै मकवानपुरगढी देशमै चौथो र बागमती प्रदेशको तेस्रो बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह बनेको छ । यसका लागि पालिकाले तीन करोड रुपियाँ खर्चेको जनाएको छ । एक जना चाइनिज लेखकले भनेझैं यदि तिमी तीन महिनामा प्रतिफल चाहान्छौ भने अन्नबालीमा लगानी गर, यदि तिमी १० वर्षमा प्रतिफल चाहान्छौं भने फलफूललगायत बिरुवामा लगानी गर, यदि तिमी लामो समयसम्म निरन्तर प्रतिफल चाहान्छौं भने बालबालिकामा लगानी गर । यो भनाइको आशयबाटै बुझिन्छ कि बालबालिकाको क्षेत्रमा गरिएको लगानी सधैंको लागि उपयोगी हुन्छ ।

पालिकाले चार वटा क्षेत्रका ५१ वटा सूचकलाई पूर्णरुपमा पूरा गरी बागमती प्रदेश सरकारको अनुमतिमा बालमैत्री घोषणा भएको हो । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ अनुसार बालबालिकाको बाँच्न पाउने अधिकार, विकासको अधिकार, संरक्षण पाउने अधिकार र बाल सहभागिताको अधिकारसंग सम्बन्धित सबै क्षेत्रमा सूचकहरु राम्रो भएपछि बालमैत्री घोषणा अनुमति पाएको पालिकालाई अब यसलाई कायमै राख्ने चुनौती थपिएको छ । पालिकाले त्यसको लागि एकसय तीनवटा बाल समूह गठन गरेको छ । ती समूहहरुमा छसय तीन जना बालक र आठसय ५४ जना बालिका आबद्ध रहेका छन् । पालिकामा कूल आठ हजार दुईसय ९३ जना बालबालिकामध्ये चार हजार छसय २४ जना बालक र तीन हजार छसय ६९ जना बालिका छन् ।

नेपालमा कहिले खुला दिसामुक्त, कहिले निकृष्ट बालश्रम मुक्त, कहिले चरिचरण मुक्त, कहिले सहयोगापेक्षी मानवमुक्तलगायत धेरै घोषणाहरु भएका छन् । अन्य खालका ‘मुक्त’हरु घोषणा हुने क्रममा पनि होलान् । तर, त्यसको दीगोपन भने नरहेको पाइएको छ । त्यसैले, बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्दा मकवानपुरगढी गाउँपालिकाले जति मेहनत गरेको छ, त्यो सहनीय छ । यसलाई कायम राख्नको लागि आगामी दिनमा अझै सक्रियता जरुरी देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*