छात्रामाथिको यौन दुव्र्यवहार तत्काल बन्द गर

साझाकुरा
२०७८ चैत्र २४, बिहीबार १०:३७

मकवानपुरको पूर्वी बागमती गाउँपालिकास्थित जनता माध्यमिक विद्यालयका तीन जना शिक्षकहरुले विद्यालयमा अध्ययनरत् छात्राहरुमाथि यौन दुव्र्यवहार गरेको खबर बाहिरिएको छ । विद्यालयको कक्षा ४ देखि ८ सम्म अध्ययनरत् १५ जना छात्रामाथि ती शिक्षकहरुले पटक–पटक यौन दुव्र्यवहार गरेको भन्दै इलाका प्रहरी फापरबारीमा उजुरी परेको हो । छात्राहरुलाई शिक्षकहरुले गलत नियत राखेर संवेदनशील अंगहरुमा हातले बारम्बार छोएको उनीहरुले दिएको उजुरीमा उल्लेख भएको प्रहरीले बताइरहँदा शिक्षक जस्तो गरिमामय पेशामा रहेकाहरुबाट यस्तो गतिविधि हुनु समग्र शिक्षण पेशाकै मर्यादामा आँच आएको छ ।

घटनाबारे जानकारी भएपछि स्थानीय राजनीतिक दल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, पीडित बालिका र अभिभावकसंग छलफल भएपनि सम्बन्धित शिक्षकहरु विद्यालयमा उपस्थित नभएपछि यो घटनाले उग्र रुप लिएको छ । यससंगै मानवअधिकार तथा बालबालिकाको क्षेत्रमा कार्य गर्ने विभिन्न संघसंस्थाहरुको टोलीले बुधबार घटनास्थलमै पुगेर घटनाबारे बुझ्ने काम गरेको छ । उक्त टोलीले हेटौंडा फर्केर पत्रकार सम्मेलन नै गरेर घटनाबारे स्थानीयस्तरमै मिलाउने प्रयास भइरहेको जनाएको छ । अभिभावकहरुले आफ्ना नानीबाबुको सुन्दर भविष्यको कल्पना गरेर उनीहरुलाई विद्यालय पठाएका हुन्छन् । तर, विद्यालयमै आफ्ना छोरीहरु सुरक्षित नहुने गरेको तथ्य सार्वजनिक भइरहँदा घटनालाई त्यत्तिकै मत्थर पारिने हो भने यस्ता घटना भोलिका दिनमा देशैभरि मौलाउन सक्छ ।

एक जना शिक्षकको गल्तीले सबै शिक्षकलाई उस्तै नजरले हेर्नु ठीक हुँदैन । समाजमा साधारण जीवनयापन गरेर बालबालिकाको भविष्यका लागि दिनरात खट्ने शिक्षकहरु पनि छन् । समाजले त्यस्ता उदाहरणीय खालका शिक्षकहरुको सम्मान गर्ने र गलत गर्नेलाई व्यक्तिगतरुपमा इङ्गित गरेर कडाभन्दा कडा कारबाही हुनुपर्दछ । यो वा त्यो बाहानामा यस्ता जघन्य अपराधबाट शिक्षकहरु उम्किन्छन् भने देशमा कानून नै छैन कि भन्ने भान पर्न जान्छ । भोलि अरु शिक्षकहरुको मनोवल बढ्न सक्छ । त्यसैले घटनाको सत्यतथ्य पत्ता लगाई निर्दोष नफस्ने र दोषी नउम्किने गरी कडाभन्दा कडा कारबाही प्रक्रिया तत्काल चाल्नु पर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*