नववर्ष २०७९ को शुभकामना

साझाकुरा
२०७९ बैशाख १, बिहीबार १३:१४

वि.सं. २०७८ साल नेपालको राजनीति पूरै अस्थीर रह्यो । असंवैधानिक रूपमा संसद् विघटन गर्नेदेखि पार्टी फुटाउनेसँगै शीर्ष नेताहरू आपसमा गालीगलौजमै उत्रिए । प्रदेशहरूमा सरकार ढाल्ने÷बनाउने गर्दा सरकार सञ्चालनको पाँच वर्षे जनादेश खण्डित भयो । संसद्को ठूलो दल एमालेले संघीय सरकारदेखि प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी सरकार गुमाउन पुग्यो । भदौ २ गते औपचारिकरूपमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत पार्टी नेतृत्व केपी ओलीसँगको प्रवृत्तिगत मतभेदका कारण अलग भए ।

एमाले क्षति व्यहोर्दै चौतर्फी घेराबन्दीमा रहँदा कांग्रेसका लागि भने सत्तायात्राको वर्ष बन्यो । संघीय सरकारदेखि गण्डकी र कर्णाली सरकारको नेतृत्वमा कांग्रेस छ । जबकि, कांग्रेसलाई प्राप्त जनादेश प्रतिपक्षी दलको हो । नेकपाकालीन टकराव, नेकपा विभाजन, एमालेमा अध्यक्ष केपी ओली र तत्कालीन वरिष्ठ नेता नेपालपक्षबीचको मतभेदलगायतले कांग्रेसको सत्तागमन सम्भव भयो । मधेस केन्द्रित
राजनीति गर्दै आएको जनता समाजवादी पार्टी पनि फुट्यो । जसपाको आधिकारिता उपेन्द्र यादव पक्षले पाएपछि महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन ग¥यो । राप्रपा पनि यसै वर्ष फुट्यो ।

हिन्दु धर्मको पवित्र ग्रन्थ गीता छोएर कसम खाएका कमल थापा पार्टी महाधिवेशनमा प्रतिस्पर्धी राजेन्द्र लिङ्देनसँग पराजित भएपछि राप्रपाबाट अलग भए । पराजित हुनुको सम्पूर्ण दोष पूर्वराजा ज्ञानेन्द्र शाहलाई थोपर्दै राजतन्त्रको मुद्दा परित्याग गरे । राप्रपा नेपाल पुनःस्थापना गरे । सशस्त्र विद्रोहताकाका योद्धाहरू रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी, प्रभु साहलगायत प्रदेश र स्थानीय तहका केही जनप्रतिनिधि अलग भएकोबाहेक अन्य राजनीतिक र सांगठनिक क्षति भने नेकपा (माओवादी केन्द्र)ले व्यहोर्नु परेन । सानो जनमत रहेको राष्ट्रिय जनमोर्चा फुट्यो । प्रधानमन्त्री छँदा एमाले अध्यक्ष केपी ओलीले संसद्मा टेबुल गराएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित भएको छ । आर्थिक संकट व्यहोरिरहेकै बेला गभर्नर महाप्रसाद अधिकारी हटाइएका छन् । राष्ट्रियसभामा निर्वाचनमा १९ सिटमध्ये १८ सिटमा गठबन्धनका उम्मेदबार बिजयी भएका छन् ।

आजदेखि वि.सं. २०७९ साल सुरु भएको छ । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । त्यससंगै प्रदेशसभा र प्रतिनिधिसभाको पनि निर्वाचन यसैवर्ष गर्नुपर्नेछ । त्यसैले यो वर्षलाई ‘चुनावी वर्ष’ भन्दा फरक पर्दैन । २०७८ सालमा राजनीतिक उतारचढावले जनअपेक्षा अनुसार काम हुन नसके पनि २०७९ सालमा हुने चुनावहरुबाट जनताको काममा दत्तचित्त भएर खट्ने जनप्रतिनिधिहरु जनताले पाऊन् भन्दै सम्पूर्णमा नववर्ष २०७९ सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।

यसमा तपाइको मत

Your email address will not be published.


*