चुनावको चटारो

साझाकुरा
२०७९ बैशाख ५, सोमबार ०९:३४

२०७९ वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा दलका नेताहरुलाई चटारो बढेको छ । चुनावमा कुन कुन वडा र पालिकामा आ–आफ्नो पार्टीको तर्फबाट को–को उम्मेदवार उठाउने भन्ने निक्र्यौल गर्न पनि नेताहरुलाई चटारो परेको हो । अहिलेको चुनावमा नेकपा एमाले र राप्रपा नेपालबीच गठबन्धन भएको छ भने नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाबीच आवश्यकता र औचित्यताका आधारमा गठबन्धन गर्ने तयारीका साथ छलफलमा जुटेका छन् ।

मकवानपुर जिल्लाको हकमा नेकपा एमालेले आफ्नो उम्मेदवारहरु धेरै स्थानमा टुंगो लगाएको छ । भीमफेदी, मकवानपुरगढी र ईन्द्रसरोबर गाउँपालिकामा सर्वसम्मत उम्मेदवार चयन गरेको एमालेले मनहरी गाउँपालिकामा उम्मेदवार सिफारिस गर्न सकेको छैन । सबैको चासोको रुपमा रहेको हेटौंडा उपमहानगरपालिकासहित बाँकी पालिकाहरुको उम्मेदवारको टुंगो लगाउन प्रदेश कमिटीमा सिफारिस गरेको छ । यस्तै, गठबन्धन दलहरुबीच भने उम्मेदवारको नाम होइन कि संख्यामै भागबण्डा नमिल्दा कार्यकर्ताहरु अलमलमा परेका छन् । आफ्नो पार्टीको तर्फबाट को उम्मेदवार हुने ? भन्ने चासो र चिन्ता बढिरहे पनि दलहरुबीच भागबण्डा नमिल्दा गठबन्धन जति कसिलो हुनुपर्ने हो त्यो नहुने हो कि भन्ने चिन्ता पनि थपिएको छ ।

नेकपा एमालेलाई हराउने मुख्य लक्ष्य लिएर पाँच दलबीच गठबन्धन भइरहँदा उम्मेदवार चयनमा भएको ढिलाइका कारण गठबन्धन नै पराजित हुने हो कि भन्ने आशंका गठबन्धनमा आबद्ध दलहरुलाई छ भने गठबन्धन मजबुद भयो भने पराजित हुने डर नेकपा एमालेलाई रहेको देखिन्छ । जिल्लाकै ठूलो दल भएका कारण आफ्नो साख जोगाउन नेकपा एमालेका कार्यकर्ताहरु चटारोका साथ गाउँ छिरेका छन् भने मकवानपुरमा नेकपा एमालेको किल्ला भत्काउने दाउमा गठबन्धन दलका नेता कार्यकर्ताहरु तयारीका साथ लागिरहेका छन् । यतिखेर उम्मेदवारी टुंगो लगाएर जनताको घरदैलोमा मत माग्ने काममा जानको लागि दलहरुबीच चटारो देखिएको छ । जे जस्तो भएपनि, सबै दलले आचारसंहिताभित्र रहेर सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नेतर्फ केन्द्रित हुन जरुरी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*