श्रमको सम्मान नै लोकतन्त्रको सुन्दरता

साझाकुरा
२०७९ बैशाख १८, आईतवार १२:५८

आज मजदुर दिवस । मजदुरहरुको लागि महत्वपूर्ण दिन । मजदुरहरुको हक अधिकार र मानव अधिकार लगायत विषयमा आवाज बुलन्द बनाउने दिन । राजनीतिक रुपमा मजदुरहरुको विषयमा बहस, छलफल गरी हरेक खालका समस्याहरुको उजागर गरेर समाधानको लागि राज्यलाई घच्घच्याउने दिन । मे १ तारिखका दिन अन्तर्राष्ट्रिय मजदुर दिवस विश्वभर मनाइने गरिन्छ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने मूल नाराका साथ अमेरिकाको सिकागोबाट विश्व मजदुर दिवस मनाउन थालिएको हो । यस दिनलाई श्रमिकका अधिकार सबैले उपभोग गर्न पाउने सम्पूर्ण अधिकारहरुलाई स्वतन्त्रतापूर्वक उपभोग गर्ने अवसर प्राप्त भएको दिनका रुपमा लिइन्छ ।

मजदुर आन्दोलनले विश्वमा ठूलो उपलब्धि हासिल गरेको छ । मजदुर अधिकारको क्षेत्रमा निकै उपलब्धि हासिल भएका छन् । तर, अझै पनि नेपालमा मजदुरको अवस्था नाजुक नै छ । यो अत्यन्त दुःखको कुरा हो । नीतिगत रुपमा केही राम्रो देखिए पनि कार्यान्वयन तहमा मजदुरहरु चर्को शोषणमा बाँच्न बाध्य छन् । नेपाली श्रम बजारमा अझै पनि ठूलो विभेद छ । चर्को श्रमशोषण, वृत्ति विकासको अभाव, न्यून पारिश्रमिक, स्थायीको अवसरबाट बञ्चित र सामाजिक असुरक्षाजस्ता समस्याबाट पीडित छन् । श्रम गरेर देशको अर्थतन्त्रलाई नै चलायमान बनाउने शक्ति हो, श्रमशक्ति । तर, वास्तविक मजदुरलाई हामी झुत्रो, कमजोर, निरीह मान्छेको रुपमा चित्रण गरिएको पाउँछौं । फोहोर बटुल्ने, भारी बोक्ने, खेत खन्नेलाई सम्मान गर्न नसक्ने र आपूmलाई सभ्य ठान्ने सोच नै सामन्ति सोंच हो । मानवीय भावनाको कदर गर्न नजान्ने समाजले आफ्नो र आफ्नो श्रमको वास्तविकतालाई बोध गर्न सक्दैन ।

यो अन्तर्राष्ट्रिय मजदुर दिवस केवल दिवसको नारा घन्काउनमात्र होइन, नेपालका श्रमिकको सम्मानका लागि स्मरणीय, उदाहरणीय सफलताको पर्व बन्नुपर्छ । नेपालमा भएका परिवर्तनकारी आन्दोलनमा श्रमिकको भूमिका महत्वपूर्ण रहेकोे छ । पछिल्लो समय नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित हुनमा पनि मजदुर वर्गको ठूलो भूमिका रहेको स्पष्ट छ । त्यसैले, श्रमको सम्मान नै लोकतन्त्रको वास्तविक सुन्दरता हुनेछ भन्नेमा दुईमत छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*