चुनाव नजिकिएसंगै २५ मिटर सडक बिस्तारको चर्चा

साझाकुरा
२०७९ बैशाख २२, बिहीबार १४:०२

हेटौंडा बजार क्षेत्रको सडक दायाँबायाँ २५÷२५ मिटर फराकिलो बनाउने विषय लामो समयदेखि पेचिलो बन्दै आएको छ । सडक फराकिलो बनाउन पटक पटक सरकारी पक्षबाट भएको प्रयास विफल हुँदै आएको सन्दर्भमा गत आइतबार नेकपा एमालेका केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हेटौंडाको एक सभामा हेटौंडा बजार क्षेत्रमा २५ मिटर सडक फराकिलो गर्ने नभई बाइपास सडकलाई निर्माण गरेर हेटौंडा बजार क्षेत्रमा सडक दायाँबायाँ १६÷१६ मिटर फराकिलो बनाउनुपर्ने धारणा सार्वजनिक गरेका छन् । यो धारणा वास्तविक नभई एउटा चुनावी ‘स्टन्ट’ मात्र भएको बुझ्न खासै समस्या हुँदैन ।

हेटौंडा बजारमा २५ मिटर फराकिलो बनाउन २०७३ सालमा तत्कालीन क्षेत्रीय प्रशासकले प्रयास नगरेको होइन । तर, जनताले व्यापक बिरोध गरेपछि त्यो कार्य विफल भयो । एक वर्षपछि भएको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर, उपमेयरसहित बहुमत वडाध्यक्ष नेकपा एमालेले जित्यो । डेढ वर्षपछि भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट तत्कालीन वठबन्धनबाट एमाले र माओवादीका नेताहरुले चुनाव जिते । केपी ओली नेतृत्वमा बहुमतको सरकार बन्यो । यस विषयमा तत्कालीन अवस्थामा मउवा संघको नेतृत्वमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण पनि भएको थियो । तर, कुनैपनि सुनुवाई नभएको विषय सारा जनतालाई जानकारी छ । त्यसपछि पुनः सडक डिभिजन कार्यालयबाट राजमार्गको २५÷२५ मिटर दायाँबायाँ सडक फराकिलो बनाउने विषयमा सूचना जारी भएर जबर्जस्ती काम गर्न खोज्दा जनस्तरबाट बिरोध भएको पनि जानकारी नै छ । पछिल्लो समय हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफूलाई जिम्मा दिए २५ मिटर भत्काउने उद्घोष गरेको स्पष्ट छ ।

अहिले स्थानीय तहको निर्वाचन नजिकिएको छ । सोही समयमा आएर नेकपा एमालेका अध्यक्ष ओलीले बाइपास सडक व्यवस्थित गर्दै बजारको सडकलाई व्यवस्थित बनाउने भनिरहँदा त्यसको कुनै अर्थ नरहेको बुझिन्छ । यो विशुद्ध आउँदो चुनावमा एमालेको पक्षमा भोट माग्ने अस्त्रभन्दा बढी केही पनि होइन भन्ने स्पष्ट देखिएको छ । आफू पदमा  रहँदा काम नगर्ने अनि चुनाव नजिकिएसंगै सस्तो लोकप्रियताको लागि स्थानीयको सुझावअनुसार दिएको एउटा भाषणको टुक्रा भन्ने स्पष्ट बुझिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*