निर्वाचन ऐतिहासिक रुपमा सम्पन्न
केही छिटपुट घटनाका बावजूद शुक्रबार स्थानीय तहको निर्वाचन ऐतिहासिक रुपमा सम्पन्न भएको छ। आफ्नो भविष्य र विकास तथा समृद्धिका सपना पूरा गर्ने हुनाले आफ्ना प्रतिनिधि छान्न मतदाताहरु उत्साहपूर्ण रुपमा मतदानमा सहभागी भए। तर यसपटकको निर्वाचनमा आँकलन गरिएअनुसार मतदाताहरुको सहभागिता भने केही न्युन रह्यो। निर्वाचन आयोगले प्रारम्भिक रुपमा ६४ प्रतिशत मत खसेको आँकलन गरेको छ। यद्यपि यो संख्यामा अझै वृद्धि हुने अनुमान छ। यस्तै, काठमाडौंमा पनि अपेक्षाअनुसार मतदान नभएको निर्वाचन आयोगको भनाइ छ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शान्तिपूर्ण अवस्था, मतदान केन्द्रमा पहुँच र सबै सुविधा हुँदाहुँदै पनि ५२ प्रतिशत हाराहारीमा मात्र मतदान भएको बताएका छन्। काठमाडौंमा किन कम मतदाता सहभागी भएभन्नेबारे विश्लेषण हुने नै छ। यस्तै, केही स्थानमा मतदान कार्यमा अवरोध सिर्जना गर्ने प्रयास भए। हिंसात्मक कार्य र अवरोधका कारण १७ स्थानीय तहका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको आयोगको भनाइ छ।
मतदानका क्रममा भएका घटनालाई लिएर मानव अधिकार आयोगले पनि निर्वाचन शान्तिपूर्ण रुपमा हुन नसकेको निष्कर्ष निकालेको छ। यस्ता घटनामा सुरक्षा प्रशासनको चुक भएकै मानिन्छ। यद्यपि विगतमा तीन चरणमा भएका निर्वाचन यसपटक एकै पटक भएका कारण पनि सुरक्षा व्यवस्थापनमा समस्या आएको भन्न सकिन्छ। जे जस्तो भए पनि निर्वाचन सम्पन्न भएको छ। यसलाई सरकारको सफलताको रुपमा मापन गर्न सकिन्छ। कस्ता प्रतिनिधि निर्वाचित हुनेछन् र जनताका सपना विपनामा परिणत होलान्, नहोलान् भन्ने कुरालाई चाहिँ मतपरिणाम नै कुर्नुपर्ने देखिन्छ।






