मल तत्काल उपलब्ध गराऊ

साझाकुरा
२०७९ जेष्ठ २७, शुक्रबार ११:४२

नेपालका किसानहरु यतिखेर रासायनिक मल नपाएर तड्पिएर हिँडिरहेका छन् । बारीमा छरिएको मकैको धानचमरा आएर घोगा लाग्ने बेला भयो भने खेतमा धान रोप्ने चटारो सुरु हुन लागेको छ । रासायनिक मल नछर्दा बारीमा मकै पहेँलो भएको छ भने खेतमा धान रोप्न तयार पारिएको ब्याडमा रासायनिक मल छर्ने बेला भइसकेको छ तर, मल नपाएर कसरी खेती गर्ने भन्ने अवस्थामा किसानहरु पुगेका छन् । जुन बेला खेतबारीमा रासायनिक मल छर्ने बेला हुन्छ, त्यही बेला हरेक वर्ष मलको हाहाकार हुँदै आएको छ । तैपनि सम्बन्धित मन्त्रालय, प्रदेश र स्थानीय सरकार कसैले यसको उचित समन्वय गर्दै मलको व्यवस्थापन गर्न सकिरहेको छैन ।

बागमती प्रदेशमा रासायनिक मल आपूर्ति गर्ने जिम्मा मूलतः कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनले लिएको छ । यी संस्थाबाट मकवानपुर जिल्लाको सबै पालिकाका सबै वडा तहमा सहकारी संस्था तथा व्यक्तिगत पसललाई डिलर कायम गरेर मलको सहज उपलब्ध गराउने कार्य गतवर्षदेखि सुरुवात भयो । कम्पनी र कर्पोरेशनले समयमै मल ल्याउन नसक्दा किसानहरु ठूलो समस्यामा परेका छन् । विशेष गरी युरिया, डीएपी र पोटास मलहरु बाली लगाएपिच्छे आवश्यक पर्दछ । यसमध्ये सबैभन्दा बढी युरिया मल खपत हुने गरेको छ । आफ्नो देशमा वर्षमा आवश्यक पर्ने मलको परिमाण अनुसार समयमै मल आयात गरेर राख्न नसक्नु सरकारको गम्भीर कमजोरी हो ।
मल अभाव टार्न मकवानपुरका केही किसानहरुले मधेश प्रदेशका केही स्थानमा गएर महंगो मूल्यमा मल किनेर लुकाएर ल्याउन बाध्य भएका छन् ।

मधेश प्रदेश भारतीय सिमानामा पर्ने हुँदा भारतीय भूमिबाट सोझै किनेर ल्याउन पाउँदा केही हद्सम्म समस्या समाधान भएको होला तर, पहाडी जिल्लामा मल उपलब्ध नहुँदा भने वार्षिक उत्पादकत्वमै ह्रास आउने पक्का छ । केही किसानले मधेश प्रदेशबाट मल ल्याउँदा पनि कानूनी झन्झट व्यहोर्नु परिरहेको गुनासो नआएका होइनन् । त्यसैले मल अभावको दीर्घकालीन समस्या समाधान गर्न विशेष योजना ल्याउँदै सरकारले तत्कालको समस्या टार्न सरकार–सरकारबीच समन्वय गर्नु टड्कारो आवश्यकता छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*