दुर्घटनाको जोखिम घटाऊ
सवारी साधनको चाप बढेअनुसारको सडक पूर्वाधार विकास नहुँदा दिनहुँ सवारी दुर्घटना बढ्दै गएको छ । सवारी दुर्घटनाबाट जनधनको क्षति हुने क्रमले तीव्रता पाएको छ । मकवानपुर जिल्लामा पछिल्लो समय दुर्घटनाका भयावह घटनाहरु भए । पूर्वपश्चिम राजमार्गको हेटौंडा–९ पशुपतिनगर क्षेत्रमा शनिबार साँझ भारतबाट ग्यास बोकेर आएको बुलेट ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुवाछोरीको मृत्यु भएको छ । ५५ वर्षीय बुवा र २६ वर्षीया छोरीको एउटै घटनामा मृत्यु हुँदा मृतक परिवार यतिखेर ठूलो बज्रपात सहन बाध्य भएको छ । यस्तै, पूर्वपश्चिम राजमार्गअन्तर्गत् ज्यामिरे खण्डमा कारमा सवार एउटा परिवार नै दुर्घटनामा पर्दा लाखौं रुपियाँ खर्चेर उपचार गराउन बाध्य छ ।
एउटा एउटा घटनालाई केलाएर हेर्ने हो भने महिनामा सयौंको संख्यामा दुर्घटनाहरु भइरहेका छन् । ती दुर्घटनाबाट मृत्यु हुने, अंगभंग हुने, आजीवन अपाड्ड हुने दर बृद्धि भइरहेको छ । तर, सवारी साधन निर्बाध भित्रिरहेका छन् भने सो अनुसार सडक संरचना बनाउन सरकार असफल भइरहेको छ । आगामी वर्षको बजेट भाषणमा सरकारले पूर्वपश्चिम दुर्घटना हुन्छ, मानवीय क्षति हुन्छ, तब हामी सडक फराकिलो पार्ने विषयलाई प्राथमिकतामा राखेर छलफल गर्छौं । जब घटना सेलाएर जान्छ, तब सडक फराकिलो पार्ने विषय पनि सेलाएर जान्छ । यो हुनु आफैंमा बिडम्बनाको कुरा हो । अब कुनैपनि बहानामा सडक फराकिलो बनाउनबाट रोक्नु हुन्न ।
हेटौंडा बजार क्षेत्रमा सडक फराकिलो बनाउने विषय स्थानीयको जग्गाको मुआब्जाको विषयमा गएर अल्झिएको छ । यो विषयलाई साँच्चिकै समाधान खोज्ने हो भने धेरै ठूलो हो जस्तो लाग्दैन । सरकारले आवश्यकता महसुस ग¥यो भने स्थानीयको जग्गा क्रमशः वर्षेनि मुआब्जा दिई घर संरचना भत्काएर बिस्तारै सडक फराकिलो बनाउने कार्य गर्दै जान सक्छ । स्थानीय जनताको सम्पत्तिमाथिको अधिकारलाई गणतान्त्रिक सरकारले कहिल्यै नजरअन्दाज गर्नु हुँदैन । बरु जनतासंग प्रत्यक्ष बसेर छलफलबाट सामान्य दर निर्धारण गरेर मुआब्जा दिएर सहज वातावरणमा बाटो फराकिलो बनाउने कार्य गर्न संघ, प्रदेश र स्थानीय सरकार गम्भीर भएर लाग्नुपर्छ । यो नै दुर्घटना न्यूनीकरणको मुख्य तरिका हुनजान्छ । योसंगै ओभरलोड, ओभरटेक, उच्च गति जस्ता कार्य रोक्न ट्राफिक प्रहरीको सक्रियता बढ्नु जरुरी छ ।






