पठन संस्कृति विकासमा स्थानीय तह लाग्नैपर्छ
पछिल्लो समय पढ्ने संख्या घट्दै गइरहेको छ । दैनिक सूचनामूलक पत्रपत्रिका पढ्ने र पुस्तकहरु पढ्ने जनसंख्या कम हुँदै गएको पाइएको छ । सूचना प्रविधिको विकाससंगै मोबाइल फोनको प्रयोग बढ्दै जाँदा पढ्न भन्दा पनि मानिसहरु मोबाइलमा पाइने अनेक खालका मनोरञ्जन तथा खेलहरु खेल्न अभ्यस्त भएको पाइन्छ । केही समय फुर्सद् भयो कि पकेटमा भएको मोबाइल निकालेर भिडियो हेर्ने, गीत सुन्ने कि त गेम खेलेर बस्ने संस्कृतिको विकास हुँदै गएको पाइन्छ ।
मोबाइलमा जानकारीमूलक सामग्रीहरु पढ्ने, हेर्ने र सुन्ने जनसंख्या पनि नभएको हैन । तर, तुलनात्मकरुपमा पुस्तक किनेर पढ्ने र पुस्तकालयमा गएर पढ्ने संस्कृतिमा भने कमि आएको पक्कै हो ।
पठन संस्कृतिले नयाँ ज्ञान प्राप्त गर्ने जनसंख्या बढ्दै जान्छ । सकारात्मक सोच भएका व्यक्ति उत्पादनमा पठन संस्कृतिको ठूलो भूमिका हुन्छ । यसलाई जति बढावा दिन सकियो त्यत्ति नै समाज परिवर्तन हुँदै जान्छ । अहिले समाजमा नकारात्मक सोच भएको जमात त्यत्तिकै छ । बौद्धिक जनशक्ति पनि छ । बौद्धिक जनशक्तिको संख्या बढाउने अभियानमा यतिखेर पुस्तकालय अभियान समूह मकवानपुर लागेको छ । समूहले हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडामा पुस्तकालय स्थापना गर्ने तयारीमा जुटेको छ । जिल्लाभर एक वडा एउटा पुस्तकालय खोल्ने अभियानमा समूह लागेको छ । यो अत्यन्तै राम्रो काम हो । एक वर्षअघि सुरु गरेको अभियानअन्तर्गत् मकवानपुरमा १२ तथा बारामा एक र
रौतहटमा एक स्थानमा गरी कूल १४ स्थानमा पुस्तकालय स्थापना भइसकेको छ ।
मकवानपुर जिल्लाभर पुस्तकालय स्थापना गर्न स्थानीय तहको सहकार्यको आवश्यकता समूहले गरेको छ । स्थानीय सरकार विकासको नाममा बाटोघाटो, पुलपुलेसा, भ्यू टावर, ढल, नाला, खानेपानी ट्याङ्की निर्माणमा मात्रै केन्द्रित रहेको पाइएको छ । त्यत्तिले मात्रै विकासको सर्वाड्डिण पाटो समेटिन सक्दैन । समाजलाई सभ्य र सुसंस्कृत बनाउन अध्ययनशील र शिक्षित जनशक्ति हुनु जरुरी छ । त्यसको लागि घरमा मात्रै नभएर समाजमा बसेर पढ्ने बानीको विकास जरुरी छ । जसको लागि स्थानीय तहले पुस्तकालय आफैंले स्थापना गर्नुपर्छ । तर, मकवानपुरमा अभियाननै सञ्चालन गरेर आफ्नो तर्फबाट पुस्तकालय अभियान समूह मकवानपुर सक्रिय भएको छ । यसमा जिल्लाका सबै स्थानीय तहले सहयोग गर्नु जरुरी देखिन्छ ।






