बढ्दैछ योगको महत्व
हरेक वर्ष जुन २१ तारिखको दिन विश्व योग दिवस मनाइन्छ । सन् २०१४ को सेप्टेम्बर २७ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रियरुपमा योग दिवस मनाउन प्रस्ताव गरेपछि राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको हो । यसवर्ष विश्व योग दिवस आज मंगलबार परेको छ । योग दिवसको अवसरमा नेपालमा पनि थुप्रै कार्यक्रमहरु भइरहेका छन् । झण्डै ५ हजार वर्ष पुरानो मानिने योगको विकास परापूर्वकालदेखि नै भएको हो । प्राचीन कालमा साधु–सन्त, ऋषि, महर्षिहरुबीच सीमित रहेको योग अहिले विश्वव्यापी बनेको छ । छोटो समयमै योगले पाएको व्यापकता र सफलतालाई अझ बढाउन योग दिवसले थप सहयोग गर्ने आशा गर्न सकिन्छ । अहिले विश्वभर ३० करोडभन्दा बढी मानिसले योग अभ्यास गर्ने गरेको पाइन्छ । संयुक्त राष्ट्र संघको योग दिवस मनाउने प्रस्तावलाई एक सय ९३ देशले समर्थन गरी पारित गरेका कारण योगलाई राज्यस्तरबाट सम्बोधन गर्नैपर्ने बाध्यता ती देशहरुलाई सिर्जना भएकाले भविष्यमा यसले अझ व्यापकता पाउने निश्चित देखिन्छ ।
केही वर्षअघिसम्म धार्मिक संस्था, योग गुरुहरुले चलाएका योगका गतिविधिहरु अहिले टोल–टोल र घर–घरमा पुगेको छ । विशेषगरी टेलिभिजन तथा इन्टरनेटको व्यापकताले घरमै बसेर योगाभ्यास गर्ने सहज अवसरका कारण योगले व्यापकता पाएको मान्न सकिन्छ । अझ संयुक्त राष्ट्रसंघको निर्णयसँगै योगमा राज्यसमेत जोडिएका कारण यसको विकास र विस्तारको गति बृद्धि हुने सम्भावना बढाएको छ । योग एक बहुउपयोगी शारीरिक अभ्यास हो । प्राचीन समयमा हठयोग, तन्त्रयोग, मन्त्रयोग, राजयोग, कर्मयोग, ज्ञानयोगजस्ता विभिन्न योगको चर्चा हुने गर्दथ्यो भने अहिले ध्यान, विपश्यना, प्राणायाम, योगजस्ता विधिहरुको प्रयोग भइरहेका छन् । योगले मानवीय चेतनालाई यसका अनेक आयामसँग जोड्न सक्ने योगका साधकहरु बताउँछन् । योगका माध्यमबाट व्यक्तिलाई शारीरिक र मानसिकरुपमा स्वस्थ रहन मद्दत पुग्छ । विश्व स्वास्थ्य संगठनले पनि स्वास्थ्यलाई शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मीकरुपमा स्वस्थ हुनु भनेर परिभाषित गरेका कारण यी सबै प्राप्तिमा योग मुख्य आधार बन्न सक्ने देखिन्छ ।
मानिसको व्यस्तता, तनाव, कुलत, खानपानजस्ता बदलिँदो जीवनशैलीका कारण अधिकांश मानिसहरु विभिन्न रोगबाट ग्रस्त बनिरहेका छन् ।
यस्तो रोगबाट बच्न मानिसले आफ्नो जीवनशैलीमा सुधार गर्नुपर्ने आवश्यकता महशुस गरिएको छ । तर, मानिसले आफ्ना बानि–व्यवहार र जीवनशैलीलाई सजिलै त्याग्न नसकिरहेको परिप्रेक्षमा त्यसबाट हुने विभिन्न असर कम गर्न योगको सहयोग लिनु उचित हुने देखिन्छ । मानिसलाई रोग, तनाव तथा कुलतबाट बचाउन शारीरिक र मानसिक स्वस्थता आवश्यक हुने हुँदा योग एउटा प्रभावकारी माध्यम हुनसक्छ । योगले मानिसको शारीरिक स्वस्थता कायम राख्नुका साथै सोचमा परिवर्तन गर्न आत्मबल प्रदान गर्दछ । योगले मानिसलाई सन्तुलित जीवन बाँच्न सिकाउने भएकाले जीवनशैली परिवर्तन गरी विभिन्न रोगबाट मुक्त हुन सहयोग गर्दछ । योगलाई अझ विस्तार र विकास गर्न योग दिवसको महत्व सबैलाई बुझाउनु आवश्यक देखिन्छ ।






