हेटौंडा अस्पतालको सेवा सुधारौं, नकारात्मक सन्देश नफैलाऔं

साझाकुरा
२०७९ असार ८, बुधबार १०:१२

मकवानपुर जिल्लाको एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा उपचारको लागि जाने बिरामीहरुले सहज सेवा नपाएको विषय पछिल्लो समय पेचिलो बन्दै गइरहेको छ । अस्पतालबाट प्रदान गरिँदै आएको सेवा सहज नभएको जनगुनासो आइरहेको छ । टिकट लिन लामो लाइन बस्नुपर्ने, टिकट लिएपछि डाक्टर भेटेर जचाउन समय लागेको, डाक्टरले लेखेको ल्याब परीक्षणको रिपोर्ट ढिलो आएको, भिडियो एक्स–रे समयमा नभएको, रिपोर्ट आएपछि डाक्टरले लेखेको औषधि लिन पनि लामो लाइन बस्नु परेको जनगुनासो भइरहेका बेला नेपाली काँग्रेस हेटौंडा नगरसमितिले ध्यानाकर्षण पत्र बुझायो । त्यसपछि अस्पतालको नियमित अनुगमन गर्दै जिम्मेवार पक्षलाई सजग गराइरह्यो । त्यससंगै स्थानीय सामाजिक अभियन्ताहरुले सोमबार र मंगलबार अस्पतालमा गएर त्यहाँको विकृतिको विषयमा बुझ्ने र जनतामाझ ल्याउने काम गरेको छ । त्यसबाट अस्पताल प्रशासन र डाक्टरहरु सचेत भएका छन् भन्ने हाम्रो बुझाई छ ।

हेटौंडा अस्पतालको सेवा चुस्त हुनुपर्छ भनेर यसअघि प्रमुख जिल्ला अधिकारी, मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षलगायत प्रशासनिक तथा व्यावसायिक तहबाट निगरानी हुँदै आएको थियो । यद्यपि, कतिपय कमिकमजोरी हुँदै आएको पाइएको छ । यस सन्दर्भमा अस्पतालको जिम्मेवार पक्ष सजग हुनैपर्छ । जनता स्वास्थ्य सेवा सहज चाहन्छन् । त्यसको व्यवस्थापन जिम्मेवार पक्षले गर्ने हो । जागिर पचाउने मात्र सोचका साथ डाक्टरहरु लाग्नु हुन्न । व्यवस्थापन पक्षले जनताको आक्रोश र माग सम्बोधन गर्न व्यवस्थापकीय सुधार तत्काल गर्नुपर्छ । विगतमा अस्पतालमा काम गर्ने डाक्टरमाथि भएको नकारात्मक गतिविधिका कारण धेरै समय हेटौंडा अस्पतालमा डाक्टर आउन नमानेका घटना धेरै पुरानो भएको छैन ।

अस्पतालको सेवामा सहजता ल्याउन सम्बन्धित पक्ष गम्भीर हुनैपर्छ । अस्पतालको सेवामा सुधार गर्न अभियन्ताहरुले उठाएका मागहरुलाई तत्काल सम्बोधन हुनुपर्छ । स्वास्थ्य जस्तो संवेदनशील विषयमा सबै पक्ष गम्भीर भएर लाग्नुपर्छ नकि राजनीति गरेर जसअपजसको जोडघटाउ । अस्पतालको विषयमा नकारात्मक सन्देश जान किमार्थ दिनु हुन्न । संयमित भएर अस्पतालको सेवा सुधार गर्ने अभियानमा सबै लागौं ।

यसमा तपाइको मत

Your email address will not be published.


*