वर्षा मौसममा विशेष सतर्कता अपनाउनैपर्छ
हेटौंडाबाट कुलेखानीहुँदै काठमाडौं जाने मार्ग छोटो छ । दूरीका हिसाबले छोटो भएकैले बागमती प्रदेशको राजधानी हेटौंडा र देशको राजधानी काठमाडौं आउजाउ गर्नेहरुको
रोजाईंमा यो मार्ग पर्दै आएको छ । सामान्य अवस्थामा हेटौंडा–काठमाडौं करिब चार घण्टामा सजिलै आउजाउ गर्न सकिने हुँदा यो मार्ग सबैको रोजाईंमा परेको हो । नजिक भएकाले प्रदेश र संघीय राजधानीमा काम गर्ने कर्मचारीहरुको पनि ओहोरदोहोर गर्ने प्रमुख मार्ग यो नै हो । त्यसैले यो मार्ग उपभोग गर्नेहरुको चाप बढेको छ । दैनिक हजारौं सवारी साधन चल्ने यो मार्गको अहिले वर्षा मौसमको अवस्था भने नाजुक बनेको छ ।
यो मार्गमा सवारी चाप बढेकैले बागमती प्रदेश सरकारले यसलाई फराकिलो बनाउने काम गरिरहेको छ । निकै सुस्त गतिमा अगाडि बढेको काम समयमै सकिनेमा शंका छ । निर्माण कार्य जारी रहेकोले उक्त मार्गअन्तर्गत् भैंसे–भीमफेदी खण्ड ठाउँ ठाउँमा भीमफेदीबाट आउने राप्ती खोलाको बगरबाट डाइभर्सन निर्माण गरिएको छ । दैनिकजसो वर्षात् भइरहेकोले उक्त डाइभर्सन भत्किने र घण्टौंसम्म जाममा पर्नुपर्ने बिडम्बनापूर्ण अवस्था देखिएको छ । अर्कोतिर मार्गमा ठाउँ ठाउँमा पहिरो जान थालिसकेको छ । उक्त पहिरो झन् जोखिमपूर्ण भएको छ । मार्ग निर्माणको लागि पहाडमा हेभी मेशिन प्रयोग भएकोले जमिनभित्र वर्षात्को पानी छिरेपछि धेरै स्थानमा पहिरो जाने सम्भावना बढेको छ । एकातिर खोलाले बगाउला भन्ने चिन्ता त अर्कोतिर पहिरोले पुर्ला भन्ने चिन्ता रहेको छ ।
स्थल मार्गबाट यात्रा यसै जोखिमपूर्ण हुन्छ । त्यसमाथि बाढी र पहिरोको जोखिम भएको यो मार्ग प्रयोगमा सतर्कता अपनाउनै पर्छ । यसको लागि यात्रापूर्व मार्गको अवस्था
बारे र वर्षात्को बारेमा राम्ररी सूचना लिएर हिँड्नु उपयुक्त हुन्छ । जसको लागि नेपाल प्रहरी तथा सम्बन्धित पालिकाहरुबाट यथार्थ सूचना लिन पनि सकिन्छ । यसतर्फ सबै गम्भीर हुनैपर्छ ।






