असारे विकास, गुणस्तरमा शंका
नेपालमा आर्थिक वर्ष साउनमा सुरु भएर असारमा सकिन्छ । आर्थिक वर्षको अन्तिम महिना हुनाले असारमा विकास निर्माणलगायत सरकारी काम सम्पन्न गर्नुपर्ने चटारो हुने गर्दछ । सरकारी निकाय, निर्माण कम्पनी, उपभोक्ता समिति, संघसंस्था सबैलाई असारको चटारो पर्ने गरेको छ । वर्षभरि अन्य ११ महिनामा भएका विकास खर्चको हाराहारीमा असार एक महिनामा खर्च हुने गरेको विगतको अभिलेखले देखाउँछ । यसरी असारमा काम सम्पन्न गर्न हतार गर्दा बजेटको सदुपयोग हुन नसकेका थुप्रै उदाहरण छन् । समय छउञ्जेल हात बाँधेर बस्ने, समय घर्किन थालेपछि हतार–हतार योजना सम्पन्न गर्ने पहिलेदेखिको बानीले धेरै योजनाहरु ‘बालुवामा पानी’जस्तै बन्ने गरेका छन् । यसले गुणस्तरहीन काम हुने त छँदैछ, लक्षित समुदायले योजनाबाट आवश्यक फाइदासमेत लिन सक्दैनन् ।
असार महिनामा बजेट सक्नका लागि हतार–हतारमा योजनाहरु सम्पन्न गर्ने परिपाटीलाई ‘असारे विकास’को रुपमासमेत लिने गरिन्छ । वर्षाको समयमा हुने विकास निर्माण काम गुणस्तरीय नहुने र वर्षाको पानीसँगै बगेर जाने खतरा पनि त्यत्तिकै हुन्छ । संघीय सरकारमात्र नभएर प्रदेश तथा स्थानीय सरकारका काम अन्य महिनाको तुलनामा असारमा व्यापक हुने गरेका छन् । विगतमा जस्तो असारको अन्त्यमा बजेट आउने र बजेट पास हुँदा भदौ पुुग्ने अनि असोज, कार्तिकमा चाडबाडको माहोलले काम नहुने र ठेक्कापट्टाको सुरुवात नै पुस, माघमा हुने कारण आर्थिक वर्षको अन्त्यमा विकास निर्माणको काममा चाप पर्ने अवस्था अहिले छैन । अहिले सबै तहका सरकारले असारभित्रै बजेट पारित गरिसक्ने अवस्था
जसले गर्दा साउनबाट सुरु हुने आर्थिक वर्षको सुरुवातमै विकास निर्माणका कामको सुरुवात गर्न सकिन्छ । समयमै विकास निर्माणका काम गर्न सकिने सम्भावना भए पनि आर्थिक वर्षको अन्तिमको एक–डेढ महिनामा काम सम्पन्न गर्ने विगतको परिपाटीमा सुधार हुन नसक्नु विडम्बना बनिरहेको छ । आर्थिक वर्षको अन्त्यमा आएर हतारहतार काम गर्ने र बजेटको दुरुपयोग गरी सबै पक्षले फाइदा लिने हाम्रो मानसिकतामा परिवर्तन आवश्यक भइसकेको छ । हाम्रो सोच, कार्यशैली र बाधक बनेका सरकारी नीतिमा परिवर्तन गरी विकास निर्माणका नाममा बजेटजति असारमै सक्ने परिपाटी अन्त्य हुनु आवश्यक छ ।
तीनै तहका सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट पारित भएपछि निर्धारित योजनाहरु सही तरिकाले सम्पन्न गराउनुमा सबैभन्दा ठूलो भूमिका र दायित्व तीनै तहका सरकारको हुन्छ । आर्थिक वर्ष सुरु हुनासाथ सम्पन्न गर्नुपर्ने कार्यक्रमहरुलाई समयतालिका बनाएर समयमै जिम्मा दिने व्यवस्था मिलाउन जनप्रतिनिधि तथा कर्मचारीहरु गम्भीर बन्नु आवश्यक छ । आर्थिक वर्षको अन्त्यमा धेरै काम गरिँदा तिनको रेखदेख तथा अनुगमन गर्न सम्भव हुँदैन । फलस्वरुप कामको जिम्मेवारी पाएका ठेकेदार, उपभोक्ता समिति तथा संघसंस्थाहरु काम गरेको जस्तो गरेर बजेट सक्नतिर जोड दिन्छन् । कतै केही काम भइहाले पनि वर्षामा आएको भेलसँगै बगेर जाने सम्भावना उत्तिकै हुन्छ । त्यसैले समयमै विकास निर्माणका काम गरी ‘असारे विकास’ अन्त्यका लागि सम्बन्धित निकाय गम्भीर बन्नुपर्छ ।






