जातीय विभेद अन्त्य हुनैपर्छ
छुवाछूत प्रथा हिन्दू वर्णव्यवस्थाबाट विकसित भएको मानिसले मानिसलाई नै छुन नहुने भन्ने परम्परागत व्यवस्था हो । यो व्यवस्थाको सुरुवात सर्वप्रथम भारतमा हिन्दू धर्मावलम्बीहरूले गरेको पाइन्छ । सामान्यतया छुवाछूत भन्नाले जातजाति, धर्म, वर्ण, लिङ्ग, पेशा, वैचारिक आस्था वा त्यस्तै अन्य विविध कुराहरूलाई आधार बनाएर निर्माण गरिएको विभेदकारी व्यवस्था हो । विश्वमा प्राचीनकालदेखि नै खासगरी पशुपालन र कृषि युगको थालनी भएपछि मानिसले मानिसलाई नै तल्लो र माथिल्लो भन्ने भेदभावपूर्ण व्यवहारको सुरुवात गरी त्यसलाई अहिलेसम्म पनि कायम राख्दै आएको छ । यस्तो स्तर
निर्धारणका आधारहरू आर्थिक अवस्था, व्यवसाय, धर्म, रङ्ग, लिङ्ग आदि थिए । यसरी निर्धारित स्तरहरूमध्ये तल्लो स्तरमा राखिएका मानिसहरूलाई माथिल्लो स्तर भएका भनिएका मानिसहरूले हेलाँ र अपमानको व्यवहार गर्ने क्रममा छुवाछूत प्रथाको विकास भएको थियो । प्राचीन भारतीय समाजमा क्रमिक रूपमा विकसित भएको यो व्यवस्था नेपाली हिन्दू समाजमा अहिले एउटा बदनाम व्यवस्थाको रूपमा गनिँदै आएको छ ।
मानिस जन्मँदा स्वतन्त्र रूपमा जन्मन्छन् । तर, अन्धविश्वास तथा गलत धारणा र संरचनात्मक मान्यताहरूले हाम्रो समाजमा नागरिकहरू विभेदमा पर्दै आएका छन् । जातिको आधारमा मानिसमाथि विभाजन र भेदभाव व्यक्तिगत अधिकारको गम्भीर उल्लङ्घन हो । नेपाली समाजमा यस्ता विभेदका घटनाहरू धेरै हुँदै आएको छ । त्यस्ता कतिपय घटना सार्वजनिक हुन्छन् त कतिपय घटना सार्वजनिक हुँदैनन् । जातीय पहिचानको आधारमा व्यक्तिलाई भेदभाव गर्ने कार्यले ‘तल्लो जात’ भनिएका नागरिक पीडित हुँदै आएका छन् । यस्ता घटना बर्सेनि सार्वजनिक हुनुले जातीय विभेद अन्त्यका लागि तर्कसड्डतरूपमा सोच्न बाध्य तुल्याएको छ ।
मानव अधिकारको विश्वव्यापी घोषणापत्रले जातजाति, वर्ण, लिड्ड, भाषा, धर्म, राजनीतिक धारणा वा अन्य विचार, राष्ट्रिय वा सामाजिक उत्पत्ति, वंश, जन्म वा कुनैपनि प्रकारको भेदभाव नगरी सबै अधिकार र स्वतन्त्रताको हक रहेको उल्लेख गरेको छ । नेपाल मानव अधिकार सन्धिको पक्ष–राज्य भएकोले आफ्ना नागरिकको समानता, मर्यादा र सुरक्षा सुनिश्चित गर्न उत्तरदायित्व राख्छ । राज्यले भेदभावरहित व्यवस्था सुनिश्चित गर्नका लागि कानुन र नीतिहरूलाई अद्यावधिक गरी कार्यान्वयन गर्नुपर्छ । नागरिक समाज संगठन र जिम्मेवार निकायले जातीय विभेद उन्मूलन गर्न जनतालाई शिक्षित गर्न सामाजिक आन्दोलनलाई सहज बनाउनुपर्छ । छुवाछुतजन्य व्यवहारहरू रोक्ने समय आइसकेको छ । नेपालमा विद्यमान जातीय विभेद अन्त्य गर्नैपर्छ । यसमा सबैले सहकार्य गरौं ।






