सम्बन्धविच्छेद पछिको समस्या
नेपाली समाजमा सम्बन्ध बिच्छेद सामान्यजस्तो बन्न लागेको छ । हिजोआज नेपाली समाजमा सम्बन्धविच्छेदका घटना अधिक हुने गरेका समाचार सार्वजनिक भइरहेका छन् । कुनै पनि महिला या पुरुषले बिहेपछि आफूले सोचेको जस्तो जीवन जिउन र स्वतन्त्र हुन पाएनन् भने उनीहरुको बैवाहिक सम्बन्धमा चिसोपन आउँदछ । त्यसैले वैवाहिक जीवनको असफलताको अन्तिम बिन्दु भनेकै सम्बन्ध विच्छेद हुन पुग्दछ । बालविवाह, बहुविवाह, अनमेल÷अन्तरजातीय विवाह, प्रेमविवाह, असमझदारी, अपहेलना, गरिबी, सम्पत्ति, रोग, निःसन्तान, शंकालु भावना तथा वैदेशिक रोजगारीजस्ता विविध कारणले दाम्पत्य सम्बन्धमा चिसोपना ल्याइरहेको छ । जसलाई पति र पत्नी मिलेर समाधान गर्न नसक्दा सम्बन्धविच्छेदजस्तो अप्रिय निर्णयमा उनीहरु पुग्दछन् ।
हाम्रो समाज पुरुषप्रधान समाज हो । यहा“को धार्मिक परम्परा र संस्कारबमोजिम अधिकांश महिलाले दोस्रो दर्जाको नागरिक भएर बा“च्नुपर्ने बाध्यता छ । महिलाहरुले विभिन्न शारीरिक, मानसिक, सामाजिक विभेद खेपिरहेका पनि छन् । यसैको उपजको रुपमा सम्बन्धविच्छेद देखिएको छ । विगतमा सम्बन्धविच्छेदको लागि महिलाको इच्छालाई सर्वोपरि मानिएकोमा २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी संहिता (ऐन)ले सम्बन्धविच्छेद गर्नका लागि पुरुषले पनि अदालतमा निवेदन दिन पाउने व्यवस्था भएको छ । जसको परिणामस्वरुप सम्बन्धविच्छेदको घटना अझ बढ्ने अनुमान गरिएको छ । यस्तो कानूनी व्यवस्था लागूभएसँगै पुरुष पनि सम्बन्धविच्छेदका लागि अदालत धाउन थालेको पाइएको छ । विगतमा महिलाले मात्र सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्न पाउने अवस्थामा यसरी वृद्धि भएको सम्बन्धविच्छेदको घटना अब पुरुषले पनि मुद्दा दर्ता गर्न पाउने भएपछि झनै बढेर जाने सम्भावना टड्कारो बनेको छ । पतिपत्नीबीच विविध कारणले सम्बन्धविच्छेद हुन्छ । तर, त्यसपछि आउने समस्याहरु धेरै देखिएको छ ।
सम्बन्धविच्छेदपछि उनीहरुबाट जन्मिएका बच्चाको भविष्य अन्धकारमय बनेको पाइन्छ । आमा र बुवाबाट पाउनुपर्ने माया, स्नेह नपाएपछि भविष्यमा ठूलो मान्छे बन्ने सपना बोकेको कयौं बालबालिकाको भविष्य अन्धकार बनेको छ । आमाबुवाको सम्बन्धविच्छेद भएका कारण कतिको जन्मदर्ता छैन । कतिपयले नागरिकता पाउन सकेका छैनन् । कतिले पढ्न पाएका छैनन् त कतिले राम्रोसंग खान र एकसरो लगाउन पनि पाएका छैनन् । वैवाहिक सम्बन्ध एउटा ‘सम्झौता’ पनि हो । त्यसैले यसलाई कायम राख्न जस्तोसुकै परिस्थितिलाई पनि समाधानको पाटोमा लैजानुको विकल्प छैन ।
सम्बन्ध विच्छेदमा महिला र पुरुष दुबैको समान भूमिका हुन्छ । दुई जनाबीचको विश्वासमा संकट सिर्जना भएपछि सम्बन्ध विच्छेदको प्रक्रिया सुरु हुन्छ । संसारको चक्र सही मार्गमा चल्न श्रीमान् श्रीमती ‘एक रथका दुई पाङ्ग्रा’ हुनैपर्छ । राजिखुसी, ह“ासिखुसी रहनुपर्ने जीवनको सम्बन्ध टुट्नु, आपसी वैमनष्य बढेर साथ छुट्नु जीवनको अभिषाप हो । सामान्य कुरामा विभिन्न खाले तर्क गर्दै जानाजान सम्बन्ध बिगारेर आफू अलग हुने निर्णय लिनु पक्कै जायज होइन । दुबैबीच विश्वास र सम्मानको भावनाबाट सम्बन्धलाई बलियो बनाउनु आवश्यक छ ।






