आदिकवि भानुभक्तप्रति श्रद्धा

साझाकुरा
२०७९ असार २९, बुधबार ०९:३५

आदिकवि भानुभक्त आचार्यको २ सय ८ औं जन्मजयन्ती आज असार २९ गते देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ । भानुभक्त आचार्य नेपाली साहित्यका आदिकवि मानिन्छन् । उनको जन्म वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीवेशीको रम्घा गाउँमा भएको हो । परम्परागत संस्कृत शिक्षा र ज्योतिषको अध्ययन गरेका आचार्यले साहित्यिक लेखनका प्रेरणा स्रोत घाँसीबाट पाएका थिए । आचार्यका अनुदित कृतिहरुमा रामायण महाकाव्य, प्रश्नोत्तरमाला र रामगीता काव्य रहेका छन् । अन्य कृतिहरुमा बधुशिक्षा, भक्तमाला र फुटकर कविताहरु पनि छन् । आचार्यका कृतिहरुमा नेपालीपन, नेपाली संस्कृति र नेपाली कला झल्किएको छ । यिनै कला र संस्कृतिको संरक्षण गरेकाले भानुभक्त आचार्यलाई २०२४ सालमा सरकारले राष्ट्रिय विभूतिको उपाधि दिएको थियो । भानु जयन्ती नेपालसहित नेपाली भाषाभाषीले थुप्रै क्षेत्रमा उत्साहका साथ मनाउँछन् ।

भानुभक्तले नेपाली सरल भाषामा बहुप्रचलित र अत्यन्त लोकप्रिय धार्मिक ग्रन्थ रामायणलाई नेपाली भाषामा अनुवाद गरेर नेपाली जनतालाई उपहार दिएका छन् । आज पनि ग्रामीण नेपाली समाजमा भानुभक्त रचित रामायणका श्लोकहरु कण्ठस्थ वाचन गर्ने गरिन्छ । उनले नेपाली भाषामा अरु धेरै कृतिहरु लेखेकोे भएता पनि
रामायणले जति लोकप्रियता अरु कुनै ग्रन्थले प्राप्त गर्न नसकेको कुराको इतिहास साक्षी छ । तत्कालीन नेपाली समाज शिक्षाको कमी, अज्ञानता र अन्धविश्वासले जकडिएको थियो । शिक्षा सर्वसुलभ थिएन र यातायात तथा सञ्चारका साधनहरु पनि थिएनन् । त्यस्तो प्रतिकूल परिस्थितिहरुलाई चिर्दै भानुभक्तले नेपाली जनजिब्रोमा बोल्ने गरिएको सरल नेपाली भाषामा रामायणको अनुवाद गरेकै कारण उनलाई आदिकविको सम्मान दिइएको हो । नेपाली भाषा र साहित्यको एकैसाथ सेवा गरेर उनले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् ।

भानुभक्त आचार्य नेपाली साहित्यका आध्यात्मिक एवम् धार्मिक प्रवृत्तिका कवि हुन् । उनले रामायण महाकाव्य लेखेर नेपाली जनमानसमा रामभक्तिको भावना फैलाएका हुन् । नेपाल विभिन्न जनजातिको साझा फूलबारी हो । विखण्डित नेपाललाई सिङ्गो नेपालमा परिणत गर्न पृथ्वीनारायण शाहको जस्तो देन छ, त्यस्तै भानुभक्तको नेपाली साहित्यमा ठूलो योगदान रहेको छ । आचार्यले नेपाली साहित्यको जग हालेका छन् । भाषिक एकताका प्रतीक बन्न पुगेका छन् । आचार्य नेपाली साहित्यका आदिकवि हुन् र एक महान् अमर विभूति पनि । त्यसैले आचार्यको जन्मदिनको अवसरमा एकदिन औपचारिक कार्यक्रम गरेर सम्झनुभन्दा हरेक दिन उनका सिर्जना र साहित्यको स्मरण गरी अगाडि बढ्दा साँचो अर्थमा उनीप्रतिको श्रद्धा प्रकट गरेको ठहरिनेछ । आदिकवि भानुभक्त बहुआयामिक व्यक्तित्व भएको कुरा उनका समग्र रचनाले पुष्टि गरेको छ । बहुभाषाभाषी हाम्रो मुलुकका जनतामा परस्पर सम्बन्ध सूत्र जोड्न आधार निर्माण गर्ने आधार व्यक्ति भानुभक्तको योगदान आजको संघीय गणतन्त्रात्मक लोकतन्त्र नेपालमा उत्तिकै सान्दर्भिक छ । भानुभक्तका योगदानको स्मरणसँगै सम्मान गर्ने परम्परा अगाडि बढाउँदामात्र अन्य भाषाका आदिपुरुषहरुको पनि स्मृति र सम्मान गर्ने परम्परा विकसित हुँदै जानेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*