‘नाइट लाइफ’लाई क्षेत्र तोक्नुपर्छ

साझाकुरा
२०७९ श्रावण ४, बुधबार ०९:२३

बागमती प्रदेशको राजधानी मकवानपुर धार्मिक, ऐतिहासिक, साँस्कृतिक, प्राकृतिक एवम् औद्योगिक पर्यटकीय जिल्ला हो । यहाँ धार्मिकरुपमा पुण्यक्षेत्र, भुवनेश्वर, ऋषेश्वर, लटारम्बेश्वर, गोरक्षेश्वर, त्रिखण्डेश्वर, पाण्डुकेश्वरलगायत महादेवस्थान, भुटनदेवी, चुरियामाई, पाथीभरा, कुष्माण्डलगायत माताका शक्तिपीठहरु तथा बौद्ध गुम्बाहरु रहेका छन् । ऐतिहासिक गढीहरु, शहीद स्मारक, छन् भने विभिन्न जातजाति भाषाभाषीका छुट्टाछुट्टै साँस्कृतिक परम्परा र कलाहरु रहेका छन् । प्राकृतिकरुपमा भौगोलिक उचाईअनुसारको फरक फरक प्रकारको हावापानी, जडिबुटी तथा वनजंगलहरु रहेका छन् । क्षेत्रफलको दृष्टिकोणले देशमै ठूलो हेटौंडा औद्योगिक क्षेत्र पनि यहिँ छ । तर, यी सबै हुँदाहुँदै पनि मकवानपुर जिल्लामा पर्यटन व्यवसाय फस्टाउन सकिरहेको छैन ।

यहाँ पर्यटकहरु टिक्न सकिरहेका छैनन् । यसको मुख्य कारण हो, रात्रि जीवन अर्थात् ‘नाइट लाइफ’ ।सोमबार हेटौंडामा भएको एक अन्तिक्र्रियामा पर्यटन बोर्डका सदस्य कृष्ण साहले ‘नाइट लाइफ’ बिताउने ठाउँहरु बनाउन सके मकवानपुरमा पर्यटक टिक्ने र पर्यटन व्यवसाय फस्टाउने धारणा राखे । पर्यटकहरु दिनभर घुमेर आएपछि केही समय आनन्द लिनको लागि डान्स, डिस्को, गजल साँझ, मसाज, थेरापी, खानाका स्टलहरु, खुला स्थानहरु आराम गर्न र खुल्लारुपमा हिँडडुल गर्न मन पराउँछन् । त्यस्ता स्थान बनाएर त्यहाँ पूर्णरुपमा शान्ति सुरक्षा व्यवस्था गर्न सके पर्यटकहरु मकवानपुरमा घमफिरपछि रात्रि जीवन बिताउँछन् र यहाँको पर्यटन व्यवसाय फस्टाउँछ । यत्रतत्र छरिएर रहेका होटलहरु, सबै होटलहरुको आ–आफ्नै छुट्टाछुट्टै प्रकारका खानाका स्वादहरु, फरक फरक मूल्यसूची रहेका कारण हरेक दृष्टिकोणबाट रात्रि जीवन ‘नाइट लाइफ’ सञ्चालन गर्न कठिनाई हुनसक्छ ।

पोखराको लेक साइड, चितवनको सौराहा जस्तै हेटौंडामा पनि विशेष क्षेत्र तय गरेर ‘नाइट लाइफ’ सञ्चालन गर्न सके पर्यटक हेटौंडा टिकाउन सजिलै छ । पछिल्लो समय तराईका जिल्ला र भारतबाट समेत मकवानपुरमा पर्यटकहरु आउने गरेका छन् । तर, उनीहरुलाई टिकाउन नसक्दा दिनभर विचरण गरेर फर्कने ठाउँको रुपमा मकवानपुर चिनिएको छ । मकवानपुर जिल्लालाई यदि पर्यटकीय जिल्लाको रुपमा अगाडि बढाउने हो भने पर्यटकहरु राति हेटौंडामा रमाउने वातावरण बनाउनुपर्छ । त्यसको लागि साँच्चै नै ‘नाइट लाइफ’ व्यवस्थापन गर्नुपर्छ । ‘नाइट लाइफ’को लागि विशेष क्षेत्र तोक्नुपर्छ । यसो हुन सकेमा आन्तरिक तथा बाह्य पर्यटकको विशेष रोजाइँको जिल्ला मकवानपुर हुनसक्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*