प्रेस युनियनको नवौं महाधिवेशन श्रमजीविको हक सुरक्षित होस्
प्रजातान्त्रिक पत्रकारहरूको भेलाले २०४८ साल जेठ १३ गतेका दिन पेशागत प्रत्याभूति, एकताबद्ध रही संगठितरूपमा अगाडि बढ्ने दृढ प्रतिबद्धता गर्दै नेपाल प्रेस युनियनको स्थापना भएको हो । श्रमजीवि पत्रकारहरूको हकहित संरक्षण पनि ट्रेड युनियन आन्दोलनले नै गर्न सक्छ भन्ने हेतुले २०४८ साल जेठ १३ गते तत्कालीन प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरी नेपाल प्रेस युनियनको जन्म भएको हो । यो
संगठन यतिखेर पेशागतरूपमा स्थापित हुँदै आएको छ । नेपालका सञ्चारकर्मीहरूलाई संगठित बनाई श्रमजीवीका पक्षमा वकालत गर्दै आएको नेपाल प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो ।
युनियनको स्थापनाकालमा जम्मा १७ जना सदस्यहरु थिए । जसमा जयप्रकाशप्रसाद गुप्ता, हरि अधिकारी, रमेश तुफान, राजेश ढुंगाना, श्रीसबल्लभ प्रधान, शोभाकर पराजुली, जगदीश घिमिरे, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, हरिहरप्रसाद श्रेष्ठ, गणेशप्रसाद नेपाल, तारानाथ दाहाल, कृष्ण कँडेल, योगेश उपाध्याय, यादव थपलिया, रामचन्द्र उप्रेती र गणेशबल्लभ प्रधान रहेका थिए । उक्त तदर्थ समितिले २०४८ साल फागुन १५, १६ गते ललितपुरमा प्रथम महाधिवेशन सम्पन्न गरी युनियनको विधान २०४८ सहित
हरि अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । २०५१ सालमा पाल्पाको तानसेनमा दोस्रो, पर्साको वीरगञ्जमा २०५३ सालमा तेस्रो, दाङको घोराहीमा २०५५ सालमा चौथो, सिराहाको लाहानमा २०६० सालमा पाँचौं, कास्कीको पोखरामा २०६४ सालमा छैठौं, सुनसरीको इटहरीमा २०६७ सालमा सातौं तथा २०७१ साल भदौमा कास्कीको पोखरामा आठौं महाधिवेशन सम्पन्न गरेको युनियनले मकवानपुरको हेटौंडामा आजदेखि नवौं महाधिवेशन गर्दैछ ।
पत्रकारहरुको पेशागत अग्रणी संस्था भएको नाताले नेपाल प्रेस युनियनले यो महाधिवेशनबाट गर्ने निर्णय र घोषणाले नेपालको समग्र मिडिया जगत प्रभावित हुने पक्का छ । पत्रकारितामा पछिल्लो समय आकर्षण धेरै छ । पत्रकारहरुको संख्यात्मक बृद्धि धेरै भइरहेको छ । राष्ट्रिय तथा स्थानीय पत्रपत्रिका, रेडियो, टेलिभिजनसंगै अनलाइन पत्रिका र टेलिभिजन पनि त्यत्तिकै खुलिरहेका छन् । यूटुव च्यानलका समस्याहरु पनि धेरै देखिएको छ । यसको व्यवस्थापनमा चुनौती पनि थपिएको छ । जनताको सूचना पाउने हकका दृष्टिले मिडियामा सहज पहुँच हुनु सुखद् पक्ष भएपनि त्यसबाट हुने विकृतिहरुलाई जरैदेखि उखेल्न सक्नुपर्दछ । त्योसंगै पेशागत हकहित रक्षा गर्ने निर्णय गर्न यो महाधिवेशन सफल होस् । युनियनको महाधिवेशन सफलताको शुभकामना ।






