‘सफा हेटौंडा अभियान’ सामूहिक प्रयास जुटाऊ

साझाकुरा
२०७९ श्रावण १६, सोमबार १०:१४

हेटौंडा उपमहानगरपालिकाले नगरलाई सफा र सुन्दर बनाउने उद्देश्यले ‘सफा हेटौंडा अभियान’ घोषणा गरेको छ । दुई साताअघि उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले संघसंस्थाका प्रतिनिधि, टोल विकास संस्था नगर समन्वय समितिका पदाधिकारी तथा मुख्य बजार क्षेत्रका टोल विकास संस्थाका प्रतिनिधिहरुसंगको छलफलपछि यो अभियान घोषणा गरेकी हुन् । हप्ताको एक दिन दुई घण्टा स्वयम्सेवी ढंगले नगरको विकासमा श्रम गर्ने परिपाटी विकास गर्दै नगरलाई सफा, स्वच्छ र हराभराबनाउनअभियानको लक्ष्य रहेको बताइन्छ । आ–आफ्नो घरआँगन र बाटो वरपर आफैंले सफा गर्दा जथाभावी फोहोर गर्ने बानीको अन्त्य गर्न पनि अभियान सार्थक हुने विश्वास नगरको रहेको पाइयो ।

गत वैशाख ३० गते निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले आफूलाई जनतामाझ लोकप्रिय बनाउन विभिन्न अभियान घोषणा गरेर कामको थालनी गरेको पाइन्छ । तर, अभियानमा प्रमुखहरु सीमित जनतामाझ आफूहरुमात्रै सक्रिय भएको देखिन्छ । स–साना कामहरु जस्तैः इनार बनाउने, पिउने पानीको पाइप विच्छ्याउने, पानी ट्याङ्की सरसफाई, पार्क निर्माण, ढल सफाई, बाटोघाटो सफाई, मन्दिर सरसफाई लगायत कार्यहरुमा स्थानीय तहका प्रमुखहरु नै जुटिरहँदा कतै सकारात्मक त कतै नकारात्मक टीकाटिप्पणी भइरहेको पाइन्छ । ‘जथाभावी फोहोर गर्नु हुँदैन, गरिहाले यसको सफाई सबैले गर्नुपर्छ’ भन्ने भावनाको विकास हुन सकेमा अहिले भइरहेको फोहोरमा धेरै न्यूनीकरण गर्न सकिन्छ । आफूले गरेको फोहोर आफैंले टिप्नुपर्छ भनेपछि त्यो फोहोर तोकिएको स्थानमा मात्रै फाल्ने संस्कार विकास हुन्छ । बाहिरबाट आएर आफ््नो
घर टोलमा फोहोर फ्याँक्न थालेमा त्यसको रोकथाम स्थानीय आफैंले गरिरहेका हुन्छन् ।

त्यसैले फोहोरलाई जथाभावी फाल्नबाटै रोक्न यो अभियान सार्थक हुनुपर्छ ।हेटौंडा उपमहानगरले सबै वडामा एकसाथ अभियानलाई अगाडि बढाएको छ । जनस्तरमा यसलाई अपनत्व हुने गरी अगाडि बढाएको अभियानमा अब क्रमशः जनसहभागिता बृद्धि हुँदै जानुपर्छ । प्लाष्टिकलाई सुइरो अभियान सुरु गरेर नियन्त्रण गरेर देशमै सफा सहरको पहिचान बनाएको हेटौंडाले अब यो अभियानबाट देशमै सफा शहरको पहिचान बनाउन पछि पर्नु हुँदैन । हरेक टोलमा हप्तैपिच्छे सफाई अभियान, चोक–चोकमा व्यवस्थित ‘डस्ट विन’ व्यवस्थापन गर्दै जनसहभागिता अभिबृद्धि गर्न सकेमा अभियानले सार्थकता पाउनेमा विश्वस्त हुन सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*