डेंगु महामारी फैलन नदिऔं

साझाकुरा
२०७९ श्रावण १८, बुधबार १२:३१

हेटौंडामा पछिल्लो समय डेंगु संक्रमणले महामारीको रुप लिने खतरा बढेको छ । दुई हप्ताको अवधिमा मकवानपुरमा २८ जनामा डेंगु संक्रमण पाइएपछि डेंगुको महामारी फैलन नदिन सचेतता अपनाउनु आवश्यक भएको छ । डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । यसको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । पछिल्लो केही हप्तादेखि तराईका विभिन्न शहरमा महामारीको रुपमा फैलिएको डेंगु मकवानपुर जिल्लामा पनि व्यापक बन्दा आम सर्वसाधारणमा त्रास बढेको छ । हेटौंडा अस्पताल तथा निजी अस्पतालहरुमा डेंगु संक्रमण जाँचका लागि आउनेको संख्या पनि बढ्दै जाँदा यसको नियन्त्रणमा सम्बद्ध निकाय गम्भीर बन्नु आवश्यक देखिएको छ ।

वर्षायाम स्वास्थ्यका दृष्टिले संवेदनशील समय हो । अझ बर्षायाममा विभिन्न प्रकारका रोगहरु फैलने गर्दछन् । यीमध्ये डेंगु पनि एक हो । नेपालमा यो रोग बर्षेनि तीब्ररुपमा फैलिँदै गइरहेको छ । यो रोग एडिस एजिप्टाई प्रजातिको लामखुट्टेले टोकेर हुने तिब्र भाइरल रोग हो । यो भाइरस डेन १ देखि ४ सम्म हुन्छन् । नेपालमा सन् २००६ मा बाँकेमा यो रोगको बिरामी भेटिएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार वर्षेनि विश्वमा करिब ६ करोड व्यक्ति यो रोगबाट संक्रमित हुन्छन् भने २ अर्ब ५० करोड व्यक्ति जोखिममा रहेका छन् । यो रोग सार्ने लामखुट्टे ग्रामीण भेगमा भन्दा शहरी भेगमा बढी पाइने गरेको छ । सन् २०१० मा नेपालमा यसले माहामारीको रुप लिएको थियो, जसमा ९ सय १७ जना बिरामीमा ६ जनाको मृत्यु भएको थियो । डेंगुलाई ‘ब्याक बोन फिभर’का नामले पनि चिनिन्छ । यो रोग लाग्दा एक्कासी ज्वरो आउने, टाउको, ढाड, जोर्नी दुख्ने, शरीरमा बिमिरा आउने, रक्तचाप घट्ने, नाक, कान, गिजा, गुद्द्वारबाट रगत आउने जस्ता लक्षणहरु देखा पर्छन् । यो रोगविरुद्ध खोप तथा खास कुनै उपचारसमेत नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने मुख्य उपाय हो ।

यो रोगबाट बच्नको लागि घर वरिपरि सरसफाइ गर्ने, सुत्दा झुलको प्रयोग गर्ने, लामो बाउला भएको लुगा लगाउने, घरका झ्याल एवम् ढोकामा जाली लगाउने, रोगको शंका लागेमा तुरुन्त स्वस्थ्य संस्थामा सम्पर्क गर्ने गर्नुपर्दछ । डेंगु संक्रमणको सम्भावना रहेका क्षेत्रमा आवश्यक सचेतनासहित लामखुट्टे नियन्त्रणका प्रभावकारी उपाय गर्नु आवश्यक छ ।अहिले हेटौंडामा देखिएको डेंगु संक्रमण बढ्न नदिन हेटौंडा उपमहानगरपालिका र अन्य सरोकारवाला निकाय गम्भीर बन्नुपर्छ । विशेषगरी तराई क्षेत्रमा डेंगुको खतरा रहने गरेको भएपनि सफा नगरको रुपमा परिचित हेटौंडामै डेंगु संक्रमण व्यापक हुनुलाई सामान्य मान्न सकिँदैन । अहिले हेटौंडाका विभिन्न क्षेत्रमा वर्षाको पानी जमेका कारण यसको संक्रमण अझ बढ्नसक्ने सम्भावना देखिन्छ । यसकारण डेंगु संक्रमणबाट बच्न आम सर्वसाधारणसमेत सचेत र जागरुक बन्दै आफ्ना घर, टोलमा लामखुट्टे नष्ट गर्ने कार्यमा जुट्नुपर्छ । यसका लागि उपमहानगरपालिका र अन्य सरोकारवाला निकायले सहयोग गर्नुपर्छ । हेटौंडामा फैलिँदै गरेको डेंगुको नियन्त्रणका लागि तुरुन्त प्रभावकारी कदम चाल्दै भोलि ठूलो समस्या सृजना नहुनेतर्फ अग्रसर बन्न सम्बद्ध निकाय गम्भीर बनोस् ।

यसमा तपाइको मत

Your email address will not be published.


*