शिशु स्वास्थ्यका लागि स्तनपान

साझाकुरा
२०७९ श्रावण १९, बिहीबार ११:५५

प्रत्येक वर्ष अगस्त १ मा विश्व स्तनपान दिवस र अगस्त ७ सम्म स्तनपान सप्ताह मनाइन्छ । सन् १९९२ देखि सुरु भएको स्तनपान सप्ताह नेपालमा स्वास्थ्य मन्त्रालयले सरकारीस्तरमा विभिन्न कार्यक्रम गरी मनाउने गरेको छ । स्वास्थ्य क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाले पनि स्तनपान सप्ताह मनाउने गर्दछन् । यस वर्षको स्तनपान सप्ताहको नारा ‘स्तनपानमा अग्रसर हुनका लागि ज्ञान दिऔं र समर्थन गरौं’ रहेको छ । जन्मिनेवित्तिकै स्तनपान गर्न पाउनु प्रत्येक नवजात शिशुको नैसर्गिक अधिकार हो । जन्मिएको ६ महिनासम्म शिशुलाई अनिवार्य आमाको दूध खुवाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न यो दिवस महत्वपूर्ण मानिन्छ । त्यसो त शिशुलाई २ वर्षसम्म निरन्तर आमाको दूध खुवाए उनीहरुको बौद्धिक र शारीरिक विकास हुनुका साथै स्वस्थ हुने चिकित्सकहरुको भनाइ छ ।

स्तनपान भनेको आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया हो । गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन थालेको हुन्छ । पहिलो बिगौति दूध बच्चाको लागि अमृतसमान हुन्छ, जसले बच्चामा धेरै रोगहरूसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँदछ । नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुँदैन, उनीहरुले आमाको दूधबाट यो शक्ति प्राप्त गर्दछन् । आमाको दूधलाई पहिलो खोप मानिन्छ । आमाको दूधमा रोगनाशक तत्वहरु हुन्छन् । आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमा फलाम तत्व दिन्छ । आमाको दूधबाट आएका साधारण जीवाणुहरुले शिशुको शरीरमा उब्जने बिभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन् ।

६ महिनामुनिका शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्व आमाको दूधमै पर्याप्त हुने देखिए पनि चेतना अभावले शिशुहरु आमाको दूध खान वञ्चित भइरहेका छन् । केही मानिसमा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने आदि गलत धारणाहरु रहेको पाइए पनि यो सत्य भने होइन । आधुनिक विज्ञानले यी धारणाहरुलाई गलत पुष्टि गरिसकेको छ । नियमित र निश्चित अवधिसम्म गराइएको स्तनपानले शिशुको उपचार र खाना खर्चमा ५० प्रतिशतले बचत हुने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ । शिशुलाई स्तनपान गराउँदा आमालाई आत्मीयता र भावनात्मक सुखानुभूति हुनुका साथै गौरव महशुस हुन्छ । त्यसैगरी उनले मानसिकरूपमा आफू स्वस्थ भएको अनुभूति गर्ने हुनाले उनलाई आत्मसन्तुष्टिसमेत प्राप्त हुन्छ ।

शिशुहरूका लागि आमाको दूध उत्तम आहारमात्र हैन, यो जीवनरक्षक आहार पनि हो । स्तनपानले आमा र शिशुको स्वास्थ्यमा अत्यन्त सकारात्मक प्रभाव पार्दछ । आमाको दूध सुपाच्य हुन्छ र यसले शिशुको पेट गडबड हुने डर हुँदैन । आमाको दूध शिशुको नाक र घाँटीमा प्रतिरोधी तह बनेर बस्दछ । यसले रोग प्रतिरोधक क्षमता बढाउन पनि सहायता गर्दछ । विश्वका विभिन्न देशहरूले स्तनपानका लागि प्रोत्साहन गरेका हुन्छन् । हाम्रो देशले पनि स्तनपानलाई शिशुको महत्वपूर्ण अधिकारका रुपमा सुरक्षित गर्दै बट्टाको दूध शिशुलाई खुवाउन पूर्णरुपमा कानूनी प्रतिबन्ध लगाउनु आवश्यक छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*